सांसद एकनाथ ढकाल र हंगेरियन संसदको विदेश मामिला समितिका अध्यक्षबीच शिष्टाचार भेट
बुडापेस्ट। मित्रराष्ट्र हंगेरीको मैत्रीपूर्ण भ्रमणमा रहेका नेपालका प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले हंगेरीयन संसदको विदेश मामिला समितिका अध्यक्ष ज्सोल्ट नेमेथसँग शिष्टाचार भेट गर्नुभएको छ। हंगेरी संसद भवनमा सम्पन्न भेटघाटका क्रममा दुई देशको आपसी हित, नेपाल र हंगेरीबीचको संसदीय आदान-प्रदान, र समान चासोका विषयमा सहकार्यबारे विस्तृत छलफल भएको ढकालको सचिवालयले जनाएको छ।
भेटका क्रममा सांसद ढकालले अध्यक्ष नेमेथलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो, जसलाई अध्यक्षले सकारात्मक रूपमा स्वीकार गर्दै हंगेरीका सांसदहरूले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने विश्वास दिलाएका थिए। ढकालले नेपालका प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको शुभकामना सन्देश पनि अध्यक्ष नेमेथलाई हस्तान्तरण गर्नुभएको छ।
सांसद ढकाल, अध्यक्ष नेमेथको निमन्त्रणामा तीनदिने भ्रमणका लागि बुडापेस्ट आइपुग्नुभएको हो। भ्रमणको क्रममा उहाँले हंगेरीका सांसदहरूसँग अन्तरक्रिया गर्नुका साथै विश्वका उत्कृष्ट, कलात्मक, र ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने हंगेरी संसद भवनको अवलोकन पनि गर्नुभएको थियो। यो संसद भवन सन् १९०४ मा उद्घाटन गरिएको हो, जसको डिजाइन इमरे स्टाइन्डलले गरेका थिए।



प्रतिक्रिया दिनुहोस