धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा

पश्चिम खबर
१ साउन २०८१, सोमबार

धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ। गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो।

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। ‘चारैतिरबाट पहिरोले घेरेको छ। गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ। एउटा घरको शौचालय बगिसक्यो’, उनले भने, ‘गएराति १२ बजेतिर पानी प¥यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ।’

मकैबारीको भित्रभित्रै चिरा परेको छ। गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छन्। एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरु छ। पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन÷चार परिवारले राति नै घर खाली गरेको पूर्णले जानकारी दिए।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन्। जमिन चिरा परेर बग्न थालेको छ। पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन्। पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको छ। अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन्।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ। सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ। बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवासमेत अवरुद्ध हुने गर्छ।


धेरै पढिएको