पश्चिमी वायुको प्रभाव सक्रिय, देशका धेरै स्थानमा वर्षाको सम्भावना
काठमाडौँ – हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावस्वरूप मंगलबार देशका विभिन्न भू–भागमा आंशिकदेखि साधारण बदली र हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। अन्य भागहरूमा भने मौसम मुख्यतः सफादेखि आंशिक बदली रहने जनाइएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावनासमेत छ।
आज राति कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ। महाशाखाले विशेषगरी खुला आकाशमा यात्रा गर्ने, हिमाली क्षेत्रतर्फ जाने वा सवारी साधन सञ्चालन गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस