नेपाल नेत्रहीन संघको १२ औं अधिवेशनमा कलाधर भण्डारी निर्विरोध महासचिवमा निर्वाचित

पश्चिम खबर
८ असोज २०८१, सोमबार

नेपाल नेत्रहीन संघको १२औं अधिवेशनले कलाधर भण्डारीलाई संघको महासचिव पदमा निर्विरोध निर्वाचित गरेको छ । उनले यो जिम्मेवारी पाएकोमा सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार प्रकट गरेका छन् ।

नव निर्वाचित महासचिव भण्डारीले प्रतिनिधिहरूको विश्वास र भरोसाप्रति कृतज्ञता व्यक्त गर्दै, आफ्नो कार्यकालमा नेत्रहीनहरूको क्षेत्रमा थप सशक्त पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, संघको कार्यलाई अझ सशक्त रूपमा अघि बढाउन सम्पूर्ण सदस्यहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।

उनले भनेका छन्, “तपाईंहरूको आशा र भरोसालाई म निराश हुन दिने छैन, म यो क्षेत्रमा अझ बढी सशक्त ढंगले आवाज उठाउनेछु । म सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई यो गरिमामय पदमा निर्वाचित गर्नुभयो’ । भण्डारी सरकारी विद्यालयका शिक्षक समेत रहेका छन् ।
यो अधिवेशनले संघको नेतृत्वलाई थप सुदृढ गर्दै, नेत्रहीनहरूको हकहितका लागि काम गर्ने आशा गरिएको छ ।