सुष्मा कोइराला मेमोरियल अस्पतालका नयाँ कन्ट्री डाइरेक्टरका रुपमा अल्बर्ट बेन्जिन नियुक्त

पश्चिम खबर
१४ मंसिर २०८१, बिहिवार

काठमाडौँ । काठमाडौँकाे शंखरापुर स्थित सुष्मा कोइराला मेमाेरियल हस्पिटलले बिदाइ तथा हस्तान्तरण सभा सम्पन्न गरेको छ । हस्पिटलको स्थापना कालदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुभएका हाइन स्टाललाई हस्पिटलले बिदाइ गरेको हो । उहाँ विगत २७ वर्षदेखि कन्ट्री डाइरेक्टर को रूपमा रहनुभएको थियो ।

उहाँको बिदाइसँगै नयाँ कन्ट्री डाइरेक्टर को रूपमा अल्बर्ट बेन्जिन नियुक्त हुनुभएको अस्पतालले जानकारी दिएको छ । उहाँलाई मेडिकल डाइरेक्टर डा. सन्तोष विक्रम भण्डारीले अस्पताल परिवारमा स्वागत गर्नुभएको थियो ।

अस्पताल निर्माणका क्रममा भोगेको समस्या र चुनौतीहरूको उल्लेख गर्दै स्थानीय तथा कर्मचारीहरूले गरेको साथ र सहयोगप्रति स्टालले सबैलाई धन्यवाद दिनुभयो । आफूहरूले अस्पताल सुरुवात गर्दा जम्मा ८ जना कर्मचारी रहेकोमा अहिले ९५ भन्दा बढी कर्मचारी रहेको बताउँदै उहाँले जलनको उपचार को लागी उत्कृष्ट अस्पतालको रूपमा सुष्मा कोइराला मेमाेरियल रहेको बत्ताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी ले आफ्नो जीवनको महत्त्वपूर्ण २७ वर्ष नेपालका लागी दिएकोमा स्टाललाई धन्यवाद दिनुभयो । सबैभन्दा ठुलो कुरा सोच भएको बताउँदै,उहाँले देशैभर जलनको उपचार गर्ने अस्पताल आवश्यक रहेको ओैलाउनुभयाे ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसकी नेतृ सुजता कोइरालाले काठमाडौँको दुर्गम क्षेत्रमा हस्पिटल खोल्न सुरुमा निकै सङ्घर्ष गर्नुपरेको स्मरण गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले सबैभन्दा पुरानो जलन हस्पिटलको रूपमा सुष्मा कोइराला मेमाेरियल हस्पिटल रहेको उल्लेख गर्दै जलनका बिरामीहरू उपचार को लागी बाहिर जानुपर्ने अवस्था नरहेको बत्ताउनुभयो ।

 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, नेतृ सुजता कोइराला, नगरपालिकाका मेयर रमेश नापित, उपमेयर समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ,  अस्पतालका डाइरेक्टर सन्तोष विक्रम भण्डारी लगायत अस्पतालका विभिन्न विभागका डाक्टर, नर्स तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बिदा हुन लाग्नुभएका स्टाललाई अस्पतालको विभिन्न विभागहरूले मायाको चिनो हस्तान्तरण गरेका थिए ।

 

 

 


धेरै पढिएको