पानीट्यांकी युवा समाजको देउसी – भैलोको रकम न्यानो कपडा र शैक्षिक सामग्री वितरणमा

पश्चिम खबर
१८ मंसिर २०८१, सोमबार

काठमाडौँ । काठमाडौँको बौद्ध,महांकाल,पानीट्यांकी -६ स्थित “पानीट्याङ्की युवा समाज” ले सिन्धुपाल्चोक जिल्ला हेलम्बु -३ पाल्चोक स्थित श्री जयवागेश्वरी माध्यमिक विद्यालय र श्री ईशिङ आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुको न्यानो कपडा र शैक्षिक सामग्रीमा देउसी भैलोको रकम खर्च गरेको छ।

पानीट्यांकी युवा समाजले मंसिर १४ गते शुक्रबार दुवै विद्यालयका करिब २५४ जनालाई न्यानो कपडा उपलब्ध गराएको थियो। पानीट्यांकी युवा समाजका अध्यक्ष उमेश सापकोटा सहित समाजका कार्यसमिति पदाधिकारी तथा सदस्य, सल्लाकार र साधारण सदस्यहरू गरी ११ जना समाजसेविहरुको उपस्थितिमा यो सेवा उपलब्ध गराइएको थियो ।

चिसो मौसमको बेला आफ्नो सानो सहयोगले विद्यार्थीहरुको अलिकति भएपनि चिसो कम गराउन सकिन्छ कि भन्ने उद्देश्यका साथ यो सेवा प्रदान गरिएको आयोजक पानीट्यांकी युवा समाजका अध्यक्ष सापकोटाले बताउनुभयो । वहाँले भन्नु भयो, “ विद्यार्थीहरु प्रति थोरै भएपनि माया प्रेम स्नेह ममता आत्मीयता अनि मानवता दर्शाउन हामीले यो सेवा सञ्चालन गरेका हौं।”

“ न्यानो कपडामा हामीले विद्यालय पोशाक नीलो स्वीटर,टोपी वितरण गरेका थियौँ,  साथै श्री जयवागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई BLE Set book पनि उपलब्ध गराएका थियौ।”  साथै वहाँले व्यस्तताका समयमा मानव सेवाका लागि भनेर हेलम्बु सम्म आउनु भएका संस्थाका कार्यसमिति पदाधिकारी तथा सदस्य, सल्लाहकार र साधारण सदस्यहरुलाई धन्यवाद दिनुभयो । न्यानो कपडा वितरण अभियान सफल गराउनका लागि आर्थिक सहयोग गर्नु हुने पानीट्यांकी निवासी टोलबासी आमाबुवा, दिदी बहिनी, दाजुभाइहरू र देश विदेशका अन्य सहयोगी र मनकारी मनहरुप्रति आभार व्यक्त गर्नु भएको छ ।


धेरै पढिएको