सुर्खेतको मालिका सामुदायिक वनमा लाखौँ रुपैयाँ हिनामिना आरोप, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली बिल र भरपाई तयार गरी सामुदायिक वनको रकम दुरुपयोग गरेको आरोप, विशेष अदालतमा मुद्दा दायर

पश्चिम खबर
१८ साउन २०८३, सोमबार

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारी तथा लेखापरीक्षकसहित ११ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।मुद्दा दायर हुनेमा मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष खिमबहादुर सावद, पदमसिं सावदहर्कबहादुर बुढा, सचिव बनौली रोकाय, पूर्णदेवी धामीतुल्सी दानी, कोषाध्यक्ष जमानसिंह धामी, रुद्रबहादुर बस्तोलाचक्रबहादुर सावद, तथा रजिस्टर्ड लेखापरीक्षक डिल्लीराम पाठकप्रेमबहादुर विसी रहेका छन्।अख्तियारका अनुसार वन उपभोक्ता समूहका पदाधिकारीहरूले झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण, वृक्षारोपण, वनहेरालुको तलब, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीघार व्यवस्थापनलगायत विभिन्न कार्यक्रमका नाममा नक्कली बिल तथा भरपाई तयार गरी लेखापरीक्षण गराएका थिए।

आयोगले गरेको अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिहरूले आपसी मिलेमतोमा सामुदायिक वनको आम्दानी हिनामिना गरेको पुष्टि भएको जनाएको छ।आयोगले पूर्वअध्यक्ष खिमबहादुर सावद, सचिव बनौली रोकाय र कोषाध्यक्ष जमानसिंह धामीसँग १६ लाख ४३ हजार ५ सय ८६ रुपैयाँ ८४ पैसा बिगो मागदाबी गरेको छ।त्यस्तै, पूर्वअध्यक्ष पदमसिं सावद, सचिव पूर्णदेवी धामी र कोषाध्यक्ष रुद्रबहादुर बस्तोलासँग २२ लाख ६८ हजार ९ सय ७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ।यस्तै, पूर्वअध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी, कोषाध्यक्ष चक्रबहादुर सावद, रजिस्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक तथा प्रेमबहादुर विसीसँग ३ लाख ९० हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाहीको माग गरिएको आयोगले जनाएको छ।आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग र आर्थिक अनियमिततामा संलग्नमाथि कानुनबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। अब उक्त मुद्दामाथि अदालतमा कानुनी प्रक्रिया अघि बढ्नेछ।


धेरै पढिएको