रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध मुद्दा आज दर्ता हुने
काठमाडौं। जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ।
सरकारी वकिलको कार्यालयका अनुसार मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। प्रहरीबाट प्राप्त राय प्रतिवेदन अध्ययनपछि आजै अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको हो।
लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका थिए। उनलाई अहिलेसम्म आठ पटक म्याद थप गरिएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने गत असोज ६ गते पक्राउ परेका थिए।
पूर्वगृहमन्त्री लामिछाने र जोशीको म्याद एकै दिन मिलान भएकाले कानुनअनुसार आजभित्र अभियोगपत्र दर्ता गरिनुपर्नेछ। शनिबार बिदा परेकाले थुनछेक बहस आइतबारदेखि सुरु हुने सम्भावना रहेको छ।
प्रहरीले ९० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधानअनुसार प्रक्रिया अघि बढाएको हो। लामिछानेसँग जोडिएको आरोपमा गोर्खा मिडियाका सञ्चालक जोशी पक्राउ परेको असोज ६ गतेबाटै ९० दिनको समय गणना भएको छ।
कास्की प्रहरीले सोमबार लामिछानेसहित ५१ जनाविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो। प्रहरी प्रतिवेदनमा सूर्यदर्शन सहकारीको रकम हिनामिना भएको भन्दै एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्न सुझाव दिइएको छ। यस अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत सहयोग गरेको थियो।
रास्वपा सभापति लामिछाने हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन्। उनको हिरासतमा सुतिरहेको तस्वीर बाहिरिएपछि यसले ठूलो चर्चा पाएको छ। तस्वीर सार्वजनिक भएको विषयमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस