आजको मौसम

आज देशभर मौसम सफा, तर केही स्थानमा हुस्सु र हिमपातको सम्भावना

पश्चिम खबर
६ पुष २०८१, शुक्रवार

काठमाडौं। आज देशका अधिकांश स्थानमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई, खोँच, र उपत्यकाका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लागेको देखिए पनि दिनभर मौसम सामान्यतया खुल्ने अनुमान गरिएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने सम्भावना छ भने अन्य भू-भागमा मौसम सफा रहनेछ। राति कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा पनि आंशिक बदली देखिनेछ, तर अन्यत्र मौसम सामान्यतया खुला रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। अत्यधिक चिसोका कारण यी स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।