मेयर नापितको नेतृत्वमा शालीनदी मेला मूल अनुगमन समिति बनाउँने निर्णय

पश्चिम खबर
१० पुष २०८१, मंगलबार

यसवर्षको श्री माधवनारायण श्री स्वस्थानी शालीनदी मेला व्यवस्थापनका लागि शंखरापुर नगरप्रमुख रमेश नापितको नेतृत्वमा मूल अनुगमन समिति बनाउँने निर्णय भएको छ । सोमबार नगरपालिकाको हलमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, यातायात व्यवसायी लगायतका सरोकारवाला पक्षहरुको छलफलका क्रममा मेला व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति बनाउँने निर्णय समेत भएको छ ।
शालीनदी मेला व्यवस्थापनका लागि सरोकारवाला सम्पूर्ण निकायद्वारा एकीकृत सेवा व्यवस्थापन गर्ने, त्यसका लागि मुल अनुगमन तथा समन्वय समिति गठन गर्ने र अन्तरनिकाय सहकार्य तथा समन्वय गर्ने निर्णय भएको छ ।
मूल अनुगमन तथा समन्वय समितिको संयोजकमा मेयर नापित, सदस्यहरुमा
नगर उप प्रमुख, ईलाका प्रशासन कार्यालयका प्रमुख, नगर सभापति, नेपाली कांग्रेस, नगर अध्यक्ष, एमाले, नगर अध्यक्ष, नेकपा माओवादी केन्द्र लगायतका स्थानीय राजनीतिक दल, प्रहरी निरीक्षक, साँखु प्रहरी प्रभाग, अध्यक्ष, माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति, अध्यक्ष, जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ, वडा नंबर ५,६,७ र ९ का अध्यक्षहरु प्रतिनिधि, ब्लु वेप्ट टु भ्यालु प्रतिनिधि, स्थानीय स्काउट प्रतिनिधि सदस्य रहने र प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल सदस्य सचिव रहने निर्णय भएको छ ।
बैठकमा मेला क्षेत्रमा रहने बजार अनुगमन, फोहोरमैला व्यवस्थापन, सवारी साधानको भाडादर, पार्किङ व्यवस्थापन लगायत विभिन्न विषयमा छलफल भएको छ ।
यस्तै बैठकले शालिनदी मेलालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थापन उप समिति, स्वास्थ्य व्यवस्थापन उप समिति, फोहोरमैला व्यवस्थाप उप समिति, ट्राफिक व्यवस्थापन उप समिति, सूचना तथा सञ्चार उपसमिति, गुनासो सुनुवाई समिति लगायतको गठन गर्ने निर्णय भएको छ ।
बैठकले शालिनदी मेलाको अवसरमा स्वागत गेट राख्नको लागि नगरपालिकाले मापदण्ड तयार गरी सो मापदण्ड बमोजिमको गेट राख्न दिने र उक्त गेटमा राखिने विज्ञापन वापतको रकम नगरपालिकाको आर्थिक ऐन, २०५० अनुसार लिने निर्णय भएको छ ।
यस्तै शंखरापुर नगरपालिकाभित्र रहेका विभिन्न मठ मन्दिर तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा अन्य सूचना मूलक सन्देश प्रवाहका लागि नगरपालिकाले विभिन्न स्थानमा फ्लेक्स तयार गरी राख्ने पनि निर्णय भएको छ ।
शालिनदी मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि वडा नंबर ७ शालिनदी चोक स्थित विजा पुखुमा निःशुल्क सार्वजनिक शौचालयको व्यवस्था नगरपालिकाले गर्ने, शालिनदी मेला व्यवस्थापन मुल अनुगमन तथा समन्वय समितिका पदाधिकारीहरुलाई शालिनदी मेला अवधिभर परिचय पत्रको व्यवस्था नगरपालिकाले गर्ने निर्णय भएको छ ।
यस्तै शालिनदी मेला व्यवस्थापन मुल अनुगमन तथा समन्वय समितिले शालिनदी मेलालाई व्यवस्थित रुपमा सन्चालनका लागि हप्ताको कम्तिमा २ दिन अनुगमन गर्ने व्यवस्था गर्ने, मेलामा रोटेपिङ राख्नको लागि निवेदन प्राप्त भएकोले नगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम कर लिएर माधव नारायण मन्दिर परिसर बाहेकको स्थानमा राख्न दिने निर्णय भएको छ ।
मेलामा आउने भक्तजनहरुबाट हुने गुनासोहरु सम्बोधन गर्नको लागि गुनासो सुनुवाई समिति गठन गरी नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएको छ ।
आगामी पुस २९ गतेदेखि १ महिनासम्म साँखुमा श्री माधवनारायण श्री स्वस्थानी सालीनदी मेला सुरु हुँदैछ ।