मदन भण्डारी राजमार्गले बदल्दै पश्चिम सुर्खेतको भविष्य

पश्चिम खबर
११ कार्तिक २०८३, मंगलबार

सुर्खेत । वर्षायाममा खोला तर्न नसक्दा यात्रु अलपत्र पर्ने, बिरामीले समयमै उपचार नपाउने र किसानका उत्पादन बजारसम्म पुर्‍याउन समस्या हुने पश्चिम सुर्खेतवासीको वर्षौँदेखिको सास्ती अब कम हुँदै गएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत सडक स्तरोन्नति र पक्की पुल निर्माणले गति लिएसँगै यस क्षेत्रको यातायात सहज हुने आशा बढेको छ।

पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको कुल दूरी ९४ किलोमिटर छ। हाल चौर खोलादेखि लगामसम्मका विभिन्न खण्डमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ।

विद्यापुर–गुटु–बल्दे खण्डको करिब २२ किलोमिटर सडक निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँ लागतमा काम भइरहेको छ। विजौरा क्षेत्रमा करिब १ हजार ६ सय मिटर सडकको विवादका कारण केही काम रोकिएको छ भने अन्य खण्ड कालोपत्रेको अन्तिम चरणमा पुगेका छन्। गुटु बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ।

त्यस्तै, लगाम–धनराश–धामीसैन खण्डको बाँकी १६ किलोमिटर सडक निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ। यसका लागि करिब डेढ अर्ब रुपैयाँ विनियोजन भएको योजना कार्यालयले जनाएको छ।

दोस्रो प्याकेजअन्तर्गत चौर खोला–विद्यापुर र बल्दे–लगाम खण्डका २५ किलोमिटर सडक निर्माण भइरहेको छ। एक अर्ब ३६ करोड रुपैयाँ लागतको यस आयोजनाअन्तर्गत केही खण्डमा पहाड कटिङको काम भइरहेको छ भने चौर खोलादेखि विद्यापुर डाँडासम्मको सडक यसै आर्थिक वर्षमा कालोपत्रे गर्ने तयारी छ।

पाँच खोलामा पक्की पुल निर्माण हुँदै

सडकसँगै पश्चिम सुर्खेतका खोलामा पक्की पुल निर्माणको काम पनि अघि बढेको छ। मदन भण्डारी राजमार्गअन्तर्गत भेडाबारीदेखि कर्णाली नदीसम्म २३ वटा पक्की पुल निर्माण गर्ने योजना छ। तीमध्ये हालसम्म १६ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्।

पश्चिम सुर्खेतमा यसअघि विद्यापुर, गुटु र ब्यूरेनी खोलामा पुल निर्माण भई सञ्चालनमा आइसकेका छन्। चालु आर्थिक वर्षमा पञ्चपुरी नगरपालिकाका स्याउलीघाट, चत्तुरे, बराइचे र सलामडुबे खोला तथा चौकुने गाउँपालिकाको लेमु खोलामा पाँचवटा पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यी पुल निर्माणमा कुल ३८ करोड १२ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ।

यसैगरी, चौकुने गाउँपालिकाको सिमलखेत खोला र चौकुने–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पुल निर्माणबारे निर्णय हुन बाँकी छ।

सडक कालोपत्रे र पक्की पुल निर्माण सम्पन्न भएपछि पश्चिम सुर्खेतका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर तथा अन्य क्षेत्रसम्म वर्षैभरि सुरक्षित यातायात सम्पर्क कायम गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले कृषि उपज, फलफूल र पशुजन्य उत्पादन बजारसम्म पुर्‍याउन सहयोग पुग्ने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।