शंखरापुर नगरपालिकाद्धारा शालीनदी मेला बजार अनुगमन
अनिवार्य मूल्यसूची राख्न र सरसफाई गर्न मेयर नापितको निर्देशन
११ माघ २०८१
काठमाडौं ।
शंखरापुर नगरप्रमुख रमेश नापितको नेतृत्वमा साँखुमा जारी शालीनदी मेला बजारको अनुगमन गरिएको छ । शुक्रबार अपराह्न नगरप्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, प्रमुख लेखा अधिकृत गोविन्द प्रसाद अधिकारी, योजना शाखा प्रमुख राममणी ढकाल, जिन्सी शाखा प्रमुख सुवोध थापा, नगर प्रहरी बल प्रमुख आङकाजी शेर्पा लगायत अन्य जनप्रतिनिधि, कर्मचारीहरु र राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीद्धारा बजार अनुगमन गरिएको हो ।
सडकका दायाँबायाँ रहेका खाजा–नास्ता पसल, अन्य दैनिक उपभोग्य सामग्री राखिएका पसलहरुको अनुगमनका क्रममा नगरप्रमुख रमेश नापितले सरसफाई गर्न, खाद्य सामग्रीको मूल्य सूची अनिवार्य राख्न निर्देशन दिनुभएको छ । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कुनै पसलबाट बढी मूल्य लिएमा वा ठगिएमा नगरपालिकामा जानकारी गराउँन तीर्थयात्रीहरुलाई आग्रह गर्नुभएको छ ।
आगामी माघ ३० गतेसम्म चल्ने शालीनदी मेलाको बजारलाई व्यवस्थित बनाउँन नगरप्रमुख नापितको नेतृत्वमा मूल अनुगमन समिति बनाइएको छ । सो समितिले प्रत्येक साता २ पटक र आवश्यक परेमा जुनसुकै बेला बजार अनुगमन गर्ने व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस