सेन्ट लरेन्स कलेजकाे स्नातक र स्नातकोत्तर तहकाे वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
काठमाडौं, सेन्ट लरेन्स कलेजले स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायहरूको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार कपनस्थित ए-वान क्याफे एण्ड पार्टी भेन्युमा आयोजित विशेष कार्यक्रममा एमबीएस, बीएससी सीएसआईटी, बीसीए, बीबीएस, बीए, बीएसडब्ल्यू संकायहरूको वार्षिकोत्सव उल्लासपूर्ण वातावरणमा मनाइएकाे हाे।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रमुख अतिथि रहनुभएको थियो। साथै, कलेजका अध्यक्ष केशव दंगाल, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, क्याम्पस प्रमुख पुरूषोत्तम महर्जन, निर्देशक विष्णुहरी नेउपाने, प्राध्यापकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूलाई सम्मान गर्दै कलेजका अध्यक्ष दंगालले हजारौं विद्यार्थीहरूको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, अनुशासन र सीप वृद्धि गर्न कलेज निरन्तर लागिपरेको बताउनुभयो। अन्य कलेजहरूमा विद्यार्थीको संख्यामा गिरावट आइरहेका बेला सेन्ट लरेन्स कलेजमा विद्यार्थीहरूको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै, कलेजले आगामी दिनमा झन् उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयाे।
क्याम्पस प्रमुख महर्जनले उच्च शिक्षा प्राप्त गरिरहेका विद्यार्थीहरूलाई रोजगारको अवसर प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समझदारी (MOU) गरिसकेको जानकारी गराउनुभयो। उहाँका अनुसार बैंक, जीवन बीमा, सूचना प्रविधि (आईटी) तथा अन्य क्षेत्रका प्रतिष्ठित संस्थाहरूसँग सम्झौता भएको छ। साथै, विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि निरन्तर मेहनत गर्न पनि उहाँ आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङले आफ्नो विद्यालय र कलेज जीवनमा सधैं पहिलो हुने अनुभव सुनाउँदै विद्यार्थीहरूलाई निरन्तर मिहिनेत गर्न प्रेरित गर्नुभयो। उहाँले आफ्नो समर्पण र कठिन परिश्रमकै कारण अहिलेको सफलतामा पुग्न सकेको बताउँदै विद्यार्थीहरूलाई दृढ इच्छाशक्ति र मेहनतको बाटो रोज्न सुझाव दिनुभयो।
कार्यक्रममा त्रिभुवन विश्वविध्यालय तथा कलेजकाे आन्तरिक परिक्षाहरु तथा विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विध्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता, अनुशासन, तथा भविष्य निर्माणका लागि प्रेरणा प्रदान गरेको कार्यक्रममा कलेजले आगामी दिनहरूमा पनि नवीनतम अवसरहरू सिर्जना गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ।





प्रतिक्रिया दिनुहोस