माओवादी कमजोर हुँदा मधेस पनि कमजोर भयो: प्रचण्ड
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनता र माओवादीबीचको सम्बन्ध कमजोर हुँदा मधेस आफैं कमजोर भएको दाबी गरेका छन्।
शुक्रबार सप्तरीको तिलाठीमा आयोजित तराई-मधेस जागरण अभियान अन्तर्गत जनतासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले अब मधेसी जनताको पहिचान र समृद्धिमा केन्द्रित हुने उद्देश्यसहित माओवादीले जागरण अभियान थालेको स्पष्ट पारे।
“२०६४ मा मधेसी जनता र माओवादीबीच असाध्यै राम्रो सम्बन्ध थियो। मधेसीको आत्मसम्मान र पहिचान माओवादीको लडाइँबाटै स्थापित भएको हो। सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र माओवादीकै संघर्षबाट आएको हो। तर, पछि विभिन्न षड्यन्त्र र जालझेलका कारण यो सम्बन्ध कमजोर बनाइयो,” उनले भने।
प्रचण्डले माओवादी कमजोर हुँदा मधेसी जनताको आत्मसम्मान, पहिचान, विकास र समृद्धिमा समेत असर परेको बताए। “अब माओवादी र मधेसी जनताको एकता बलियो बनाउनुपर्छ। भ्रष्टाचार निर्मूल पार्न, सुशासन कायम गर्न र मधेसको विकासमा केन्द्रित हुन म सहित पार्टी नेतृत्व जागरण अभियानमा आएको हो,” उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस