माधव नेपालकाे देउवालाई चेतावनी: ‘नर्क पुर्‍याइदेलान् है, होश गर्नुहोस्’

पश्चिम खबर
१७ फागुन २०८१, शुक्रवार

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन्। उनले संविधान संशोधनको लागि गठबन्धन बनाइए पनि हालसम्म कुनै ठोस कदम नचालिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार जसपा नेपालद्वारा आयोजित भूमिसम्बन्धी अध्यादेशसम्बन्धी अन्तरक्रियामा बोल्दै नेपालले सरकार गठनका क्रममा संविधान संशोधनको विषय उठाइए पनि त्यसबारे कुनै बहस नगरिएको टिप्पणी गरे।

‘संविधान संशोधन गर्नुपर्छ कि पर्दैन भन्ने बहस चलाइएन, देशव्यापी रूपमा छलफलको विषय बनाइएन। संविधान संशोधनको बहानामा अर्को गठबन्धन बनाइयो। अब संशोधन होला भन्ने आशा थियो, तर प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्रै गर्ने भनेका छन्। २०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो त?’ उनले प्रश्न गरे।

नेपालले देउवालाई चेतावनी दिँदै भने, ‘होशियार शेरबहादुरजी, नत्र तपाईंले विश्वास गर्नुभएको होला— सँगै स्वर्ग जाउँला भनेर। मख्ख परेर बस्नुभएको होला, नर्क पुर्‍याइदेला है, होश गर्नुहोस्।’

उनले आफ्नो भनाइ कसैलाई लक्षित गरेर नभएको स्पष्ट पार्दै भने, ‘मैले पूर्वाग्रह राखेर बोलेको होइन। तर मैले बोल्यो कि कसैकसैलाई पोल्यो भइहाल्छ। माधव नेपालले फलानोलाई भने भनेर चर्चा हुन्छ, तर म कसैको नाम पनि लिन्न।’


धेरै पढिएको