ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की, ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भन्दै जिस्काएपछि आक्रोशित

पश्चिम खबर
१८ फागुन २०८१, शनिबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ भन्दै सम्बन्ध जोगाउन सकिने प्रतिक्रिया दिएका छन्। ओभल अफिसमा भएको असाधारण वार्तामा जेलेन्स्की, ट्रम्प र जेडी वेन्सबीच तीव्र बहस भएपछि संयुक्त पत्रकार सम्मेलन रद्द गरिएको थियो।

बाझाबाझकै क्रममा ट्रम्पले जेलेन्स्कीलाई ‘आभारी’ भने पनि ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भन्दै जिस्काएपछि जेलेन्स्की आक्रोशित भएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता हुन नहुने बताएका थिए भने ट्रम्पको नरमपन्थी व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।

विवादपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न भनिएको थियो। दुबै नेताले सामाजिक सञ्जालमार्फत आ-आफ्नो प्रतिक्रिया दिँदै जेलेन्स्कीले सम्बन्ध सुधार्न सकिने बताएका छन् भने ट्रम्पले शान्तिका लागि तयार भए उनी (जेलेन्स्की) फिर्ता आउन सक्ने संकेत गरेका छन्।

यसैबीच, जेलेन्स्कीले कयौँ युरोपेली नेताहरूसँग छलफल गरेको र उनीहरूले युक्रेनप्रति आफ्नो समर्थन दोहोर्याएको बताइएको छ। बेलायती प्रधानमन्त्री कीर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुबैसँग कुरा गर्दै युक्रेनलाई निरन्तर समर्थन गर्ने प्रतिवद्धता जनाएका छन्।