नेपालमा प्रि-मनसुन सुरु, अब चट्याङ र हावाहुरीसहितको वर्षा बढ्ने

पश्चिम खबर
१८ फागुन २०८१, शनिबार

काठमाडौं । नेपालमा आज (मार्च १) बाट प्रि-मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम (विन्टर) समाप्त भएसँगै फागुन १७ देखि प्रि-मनसुनको सुरुवात भएको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी हिउँद यामका महिनाहरू हुन् भने मार्चदेखि मेसम्म प्रि-मनसुन अवधि मानिन्छ। नेपालमा मनसुन औसत रूपमा जुन १३ मा भित्रिने भएकाले त्यसअघिको समयलाई प्रि-मनसुन मानिन्छ।

प्रि-मनसुन अवधिमा झरीजस्तो निरन्तर वर्षा नहुने तर चट्याङ, हावाहुरीसहित कम समयमा अत्यधिक वर्षा हुने मौसमविद् लामिछानेले बताए। उनका अनुसार मनसुन भित्रिएपछि जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई वर्षायाम मानिन्छ भने अक्टोबर र नोभेम्बरलाई पोस्ट-मनसुन अवधि मानिन्छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने जनाएको छ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।