देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा आंशिक बदली रहने
काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यस्तै, राति कोशी प्रदेशका केही पहाडी क्षेत्रमा बदली रहन सक्ने सम्भावना छ, भने अन्य ठाउँमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ।
तराईका केही स्थानमा विहानपख हल्का हुस्सु लागेको देखिएको छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
हालको मौसमी अवस्थाले कुनै ठूलो प्रभाव पार्ने सम्भावना नरहे पनि पहाडी क्षेत्रमा बादल लाग्ने र तराईमा हल्का हुस्सु देखिने भएकाले सचेत रहन मौसमविद्हरूले सुझाव दिएका छन्। मौसममा आउने परिवर्तनबारे थप जानकारी आवश्यक परेमा महाशाखाको आधिकारिक सूचनालाई आधार मान्न पनि अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस