लीलबहादुर क्षेत्रीको निधन: नेपाली साहित्यका मूर्धन्य स्रष्टाको अवसान
गुवाहाटी, भारत । नेपाली साहित्यका ख्यातिप्राप्त साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, उनले १३ मार्च (फागुन २९) राति १०:१० बजे आफ्नै निवास मरिखाली, गुवाहाटीमा अन्तिम श्वास लिएका थिए।
सन् १९३३ मार्च १ मा गुवाहाटी टकौबारीमा जन्मिएका क्षेत्री नेपाली साहित्यमा अमूल्य योगदान दिएका साहित्यकार हुन्। १६ वर्षको उमेरमा ‘शिवस्तुति’ शीर्षक कविता प्रकाशित गर्दै साहित्यिक यात्रा सुरु गरेका उनले सन् २०१४ (वि.सं.) मा मदन पुरस्कार पुस्तकालयबाट प्रकाशित उपन्यास ‘बसाइँ’ मार्फत अत्यधिक लोकप्रियता हासिल गरे।
‘बसाइँ’ उपन्यास नेपाली साहित्यको इतिहासमा कोसेढुंगा सावित भयो। पछि साझा प्रकाशनबाट प्रकाशित भएपछि यो कृति नेपाली साहित्यको सर्वाधिक बिक्री हुने उपन्यास बन्यो। यस उपन्यासलाई अंग्रेजी सहित विभिन्न भाषाहरूमा अनुवाद गरिएको छ भने, चलचित्रका रूपमा पनि निर्माण भएको छ।
उनले ‘अतृप्ति’, ‘ब्रम्हपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ जस्ता चर्चित उपन्यासहरू लेखे। साथै, उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’, ‘छरिएको बिस्कुन’ जस्ता कथा सङ्ग्रहहरू पनि प्रकाशित छन्।
क्षेत्रीका ‘दोबाटो’, ‘माग’ र ‘शुरुको शुरु’ नाटक कृतिहरू उल्लेखनीय छन्। गैरआख्यान विधामा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। उनका कृतिहरूमा ‘असममा नेपाली भाषाको साहो–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ आदि पर्दछन्।
हालै उनका सम्पूर्ण उपन्यासहरू ‘समग्र उपन्यास’ शीर्षकमा प्रकाशित भएका थिए।
उनले नेपाल तथा भारतका थुप्रै प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए। उनले मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार जस्ता अवार्डहरू प्राप्त गरेका थिए।
सन् २०२० मा भारत सरकारबाट पद्मश्री पुरस्कार प्रदान गरिँदा उनको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको थियो। नेपाली साहित्यका एक शिखर पुरुषको निधनले साहित्य जगतमा अपूरणीय क्षति पुगेको छ।



प्रतिक्रिया दिनुहोस