देशभर मौसममा विविध असर: वर्षा, हिमपात र हावाहुरीको सम्भावना

पश्चिम खबर
५ चैत २०८१, मंगलबार

काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का हिमपात हुन सक्छ। यस्तै, कोशी र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्नेछ भने अपराह्नको समयमा कोशी र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले यस अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।