काठमाडौँमा आज दुई पक्षको छुट्टाछुट्टै शक्ति प्रदर्शन, ३५ सय प्रहरी खटाइने

पश्चिम खबर
१५ चैत २०८१, शुक्रवार

काठमाडाैँ । आज काठमाडौँमा दुई फरक पक्षले प्रदर्शन गर्ने भएका छन्। प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाले, र तीनकुनेमा पूर्वराजा समर्थकहरूले शक्ति प्रदर्शन गर्न लागेका छन्।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्। उनीहरूले भृकुटीमण्डपमा ठूलो प्रदर्शन गर्ने तयारी गरेका छन्।

उता, पूर्वराजा समर्थकहरूले दुर्गा प्रसाईंको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा तीनकुनेमा प्रदर्शन गर्नेछन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि उक्त प्रदर्शनमा सहभागी हुने अनुमान गरिएको छ। सुवेदी समूहले प्रदर्शन स्थल खुलासा नगरेकाले उनीहरू प्रसाईं समूहसँगै मिसिएर प्रदर्शन गर्ने आँकलन गरिएको छ।

संभावित झडप रोक्न कडा सुरक्षा तयारी

दुबै समूहको शक्ति प्रदर्शनका कारण मुठभेडको सम्भावना रहेकाले उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा योजना बनाएको छ। काठमाडौँ उपत्यकाभर ३५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षा व्यवस्थाको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्नेछन् भने प्रदर्शनीस्थलमा एसपी अपिल बोहरा खटिनेछन्।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ। उक्त सेन्टरबाट प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी अधिकारी, र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले निगरानी गर्नेछन्।

रूट व्यवस्थापन र सुरक्षा रणनीति

पूर्वराजा समर्थकहरूलाई चक्रपथ बाहिर मात्रै जुलुस निकाल्न अनुमति दिइएको छ। उनीहरूलाई चाबहिल, सातदोबाटो हुँदै तीनकुनेमा प्रदर्शन गर्न दिइनेछ। भक्तपुरतिरबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोक्ने योजना छ।

समाजवादी मोर्चाका समर्थकहरूलाई कोटेश्वरबाट बालकुमारी हुँदै भित्रको बाटोबाट प्रदर्शनीमार्गतर्फ लैजाने रणनीति बनाइएको छ। उनीहरूले बबरमहल, माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गमा जुलुस गर्नेछन्। थप रूपमा, पकनाजोल, जमल हुँदै त्रिचन्द्रतर्फ पनि जुलुस निकाल्ने अनुमति दिइएको छ।

मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी सुरक्षा निकायलाई दिएको छ। साथै, सम्भावित अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ।

शान्तिपूर्ण प्रदर्शनको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले दुबै पक्षलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ। आयोगले सम्भावित भिडन्तका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै चासो व्यक्त गरेको छ। यस विषयमा आयोगले काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र मानव अधिकार सेलसँग छलफलसमेत गरेको छ।


धेरै पढिएको