साँखुमा ४५ औँ विश्व पर्यटन दिवस विशेष कार्यक्रमसहित मनाइने, ऐतिहासिक महत्त्व उजागर गर्ने तयारी

पश्चिम खबर
९ असोज २०८१, मंगलबार

असोज ७, काठमाडौँ ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा यस वर्षको ४५ औँ विश्व पर्यटन दिवस ऐतिहासिक नगरी साँखुमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । असोज ११ गतेका दिन हुने यस कार्यक्रममा साँखुको पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ ।
असोज ७ गते शंखरापुर नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे विस्तृत जानकारी दिइयो । पत्रकार सम्मेलनमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले कार्यक्रमको औचित्य र साँखुको ऐतिहासिक भूमिकाबारे प्रस्ट्याउनु भयो । उहाँले साँखु जस्तो ऐतिहासिक नगरमा विश्व पर्यटन दिवसको कार्यक्रम आयोजना हुनुले यहाँको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अझै प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सघाउ पु¥याउँने बताउनुभयो ।

मन्त्री ठकुरीले साँखुको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै यसलाई विश्वव्यापी पहिचान दिलाउन बागमती प्रदेश सरकारको प्रतिबद्धता रहेको समेत उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितले साँखुको सांस्कृतिक विविधताबारे चर्चा गर्दै यो कार्यक्रम शंखरापुरका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो । उहाँले पर्यटन दिवसको अवसरमा साँखुको सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्वलाई उजागर गर्न विशेष योगदान पुर्‍याउने आशा व्यक्त गर्नुभयो ।

नगर प्रमुख नापितले यस कार्यक्रमले नगरको पर्यटन क्षेत्रलाई सशक्त बनाउन ठोस भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पर्यटन मन्त्री विमल ठकुरीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राचीन साँखु शहरको धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक पक्षहरूबारे महत्वबारे प्रस्ट पार्नुभएको थियो । साँखुको चार दिशामा रहेका ऐतिहासिक ढोकाहरू र तिनको महत्त्व, नगरभित्रका मठमन्दिरहरूको ऐतिहासिक पक्ष र महत्वबारे पनि मेयर नापितले प्रकाश पार्नुभएको थियो ।
यस्तै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले पनि साँखुको ऐतिहासिक सहर प्रवर्द्धनका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले साँखुको प्राचीन सम्पदाहरूलाई संरक्षण गर्दै पर्यटनको माध्यमबाट स्थानीय विकासमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

साँखुको ऐतिहासिक र सांस्कृतिक महत्त्व
नगरप्रमुख रमेश नापितले पर्यटन दिवसका अवसरमा स्थानीय नेवार तथा तामाङ समुदायको मौलिक सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्ने जानकारी गराउँदै कार्यक्रममा सहभागीताका लागि नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
ऐतिहासिक नगर साँखु नेपालको एक प्राचीन सहर हो, जुन काठमाडौँ उपत्यकाको पुरानो व्यापारिक मार्गमा अवस्थित छ । काठमाडौँ–तिब्बत व्यापार मार्गको रूपमा रहेको नगरमा बौद्ध र हिन्दु धर्मावलम्बीहरूको लागि पवित्र स्थलहरू रहेका छन् । मणिच्यूड, बज्रयोगिनी, शालीनदी लगायतका वरिपरिका मठमन्दिरहरूले यहाँको धार्मिक महत्त्वलाई अझ प्रगाढ बनाएको छ ।
साँखुमा मनाइने पर्यटन दिवसले यहाँको ऐतिहासिक धरोहर, पुरातात्त्विक सम्पदा र पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको नगरप्रमुख नापितले बताउनुभएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाहरूले पुराना संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । पर्यटन दिवसको अवसरमा साँखुको मौलिकता र सांस्कृतिक धरोहरलाई सबैसामु चिनाउन विशेष कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको छ ।
पछिल्लो समय साँखु धार्मिक, सांस्कृतिक र ऐतिहासिक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । स्थानीय तथा विदेशी पर्यटकहरूका लागि साँखु एउटा महत्त्वपूर्ण गन्तव्य बन्दै गएको छ, जहाँ पुरातात्त्विक स्थलहरू, पुराना मठमन्दिरहरू र सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई आकर्षित गर्दै आएका छन् । श्री स्वस्थानी व्रत कथाको महत्त्वपूर्ण स्थल भएकोले यहाँ हरेक वर्ष हजारौँ भक्तजनहरू तीर्थ गर्न आउने गरेका छन् ।
यस ऐतिहासिक नगरमा हुने पर्यटन दिवसले साँखुको मौलिकता, सांस्कृतिक धरोहर र पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्नेछ । कार्यक्रमका क्रममा स्थानीय कला, संस्कृति, हस्तकला र परम्परागत जीवनशैलीलाई पनि प्रस्तुत गरिने योजना रहेको छ, जसले साँखुमा पर्यटनको आयामलाई फराकिलो पार्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 


धेरै पढिएको