माघ १६ देखि १९ गतेसम्म साँखुमा शंखरापुर सक्व महोत्सव आयोजना हुने

पश्चिम खबर
९ माघ २०८१, मंगलबार

२०८१ माघ ८ गते

शंखरापुर नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक, र पर्यटकीय महत्व झल्काउने शंखरापुर सक्व महोत्सव २०८१ माघ १६ देखि १९ गतेसम्म साँखुमा आयोजना गर्ने भएको छ। शंखरापुर नगरपालिकाको आयोजनामा र वडा नं. ६ तथा ७ को संयोजनमा प्राचीन सम्पदा बस्तीमा यो महोत्सव गरिन लागेको हो। माघ ८ गते साँखुमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रमेश नापितले महोत्सवका उद्देश्य र महत्त्वका बारेमा जानकारी दिनुभएको छ।

नगरप्रमुख नापितले  साँखु तीन हजार वर्ष पुरानो नगर रहेको र जसले नेपालकै इतिहास र संस्कृतिमा महत्वपूर्ण स्थान ओगटेको जानकारी गराउनुभयो ।  यहाँको शालिनदी मेलामा लाखौँ भक्तजन र पर्यटक आउने भए पनि धेरैलाई साँखु र यस क्षेत्रको सम्पदा, कला, तथा संस्कृति बारे विस्तृत जानकारी नभएको, यही कमीलाई पूरा गर्न महोत्सव आयोजना गरिन लागेको जानकारी गराउनुभयो ।

नगरप्रमुखले महोत्सवले साँखुको सम्पदा संरक्षणका साथै स्थानीय उत्पादन र सेवाको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो। नगरभित्रका धार्मिक र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै यहाँका स्थानीय कला, संस्कृति, र परम्परालाई दीर्घकालीन रूपमा जगेर्ना गर्न महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै कृषि र व्यापार गतिविधिहरूलाई थप प्रोत्साहित गर्ने उहाँको भनाइ छ।

यस्तै नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले महोत्सव सफल बनाउन नगरवासी, स्थानीय संघसंस्था, व्यवसायी, सञ्चारकर्मी, र स्वयंसेवकहरूको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले महोत्सवमा सहभागी भई साँखु र यसको प्राचीन सम्पदाबारे जानकारी लिन र नगरलाई पर्यटनको मुख्य गन्तव्यका रूपमा विकास गर्न सबैलाई आह्वान गर्नुभएको छ।

महोत्सवको उद्देश्य प्राचीन साँखु बस्ती र शंखरापुर नगरभित्रका सम्पदाहरूको संरक्षण, प्रचारप्रसार, र प्रवर्द्धन गर्नु रहेको छ। नगर प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले साँखुको सांस्कृतिक र धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउँदै नगरभित्रको कृषि, पर्यटन, र सांस्कृतिक सम्पदाको विकासका लागि यो महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो।

“साँखु करिब तीन हजार वर्ष पुरानो नगर हो। यहाँको ऐतिहासिक महत्वका बाबजुद धेरै भक्तजन र पर्यटकले शालिनदी मेला भ्रमण गरे पनि प्राचीन नगरको बारेमा विस्तृत जानकारी नपाएको अवस्था छ। यस कारण महोत्सवले साँखु र शंखरापुर नगरको सम्पदा, परम्परा, र मौलिक संस्कृतिबारे जानकारी दिने प्रयास गर्नेछ।”

शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले शंखरापुर सक्व महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ। माघ १६ देखि १९ गतेसम्म साँखुमा आयोजना हुने महोत्सवले साँखुको सांस्कृतिक, ऐतिहासिक, र पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ।

महोत्सवका प्रमुख उद्देश्यहरू

  1. साँखु सम्पदा बस्तीलाई विश्वसामु परिचित गराउने।
  2. स्थानीय उत्पादन र सेवाहरूको प्रवर्द्धन गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने।
  3. पर्यटन प्रवर्द्धन गर्दै नगरभित्रका धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार गर्ने।
  4. स्थानीय कला, संस्कृति, र परम्पराको संरक्षण तथा सम्बर्द्धन गर्ने।
  5. नगरबासीहरूको आयवृद्धिका लागि कृषि र व्यापार गतिविधिलाई प्रोत्साहित गर्ने।

महोत्सवका मुख्य आकर्षणहरू

शंखरापुर सक्व महोत्सव २०८१ मा विभिन्न सांस्कृतिक, ऐतिहासिक, र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्। महोत्सवका प्रमुख आकर्षणहरू निम्न छन्:

  • झाँकीसहित नगर परिक्रमा।
  • स्थानीय कृषि उत्पादन, हस्तकला, र व्यापार प्रदर्शनी।
  • नेवारी खाजा र परम्परागत खाना प्रदर्शन।
  • भेषभूषा, गरगहना, र अन्य परम्परागत सामग्रीको प्रदर्शनी।
  • चित्रकला प्रदर्शनी र हराएका ऐतिहासिक मूर्तिहरूको जानकारी।
  • लोकदोहोरी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम।
  • परम्परागत खेलकुद, कासा खेल प्रदर्शन।
  • भाषा, साहित्य, र कला सम्बन्धी प्रदर्शनी।
  • विभिन्न जातीय संस्कार र परम्परागत जात्राको प्रदर्शन।

आयोजनाको संरचना

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको संयोजकत्वमा महोत्सवको मूल समिति गठन गरिएको छ। समितिमा उपप्रमुख समिता श्रेष्ठ उपसंयोजक, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल सदस्य सचिव र नौ वटै वडाध्यक्ष सदस्यका रूपमा सहभागी छन्। महोत्सव सफल बनाउन स्थानीय संघसंस्था, व्यवसायी, कलाकार, सञ्चारकर्मी, र स्वयंसेवकहरूको समेत भूमिका महत्त्वपूर्ण हुनेछ।

अपेक्षित उपलब्धिहरू

महोत्सवले निम्न उपलब्धिहरू हासिल गर्ने अपेक्षा गरिएको छ:

  1. साँखु बस्तीको ऐतिहासिक महत्वबारे थप जनचेतना जागृत हुनेछ।
  2. भक्तजन र पर्यटकले स्थानीय वस्तु र सेवा खरिद गर्ने अवसर पाउनेछन्।
  3. नगरको सांस्कृतिक सम्पदा र परम्पराबारे पर्यटकहरूलाई जानकारी हुनेछ।
  4. स्थानीय बजारको विस्तार भई उपभोक्ता हकहित संरक्षणमा योगदान हुनेछ।
  5. स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन महोत्सव कोशेढुङ्गा सावित हुनेछ।

शंखरापुर सक्व महोत्सव २०८१ ले ऐतिहासिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, र स्थानीय उत्पादन तथा सेवाहरूको विकासमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ।


धेरै पढिएको