कानुनी अस्पष्टताले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार सुनिश्चिततामा अवरोध

पश्चिम खबर
१३ पुष २०८१, शुक्रवार

काठमाडौं। स्पष्ट कानुन नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले नागरिकता अधिकारका लागि अदालत धाउनु परेको दुःखेसो पोखिएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले शुक्रवार आयोजना गरेको लैङ्गिक तथा यौनिक अल्पसंख्यकको कानुनी पहिचान विषयक अन्तर्क्रियामा उक्त उक्त दुखेसो पोखिएको हो ।

सिड कमिटीमा पेस हुने छाँया प्रतिवेदनमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गुनासो समेट्न सञ्चारकर्मीसँग छलफल कार्यक्रम आयोजना गरिएको एफडब्लुएलडीकी कार्यक्रम अधिकृत अधिवक्ता सुस्मा गौतमले बताइन् । छलफलको निष्कर्ष जनवरी ६ मा प्रस्तुत गरिने सिडको छाया प्रतिवेदनमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको कानुनी पहिचानबारे उल्लेख गरिने गौतमले बताइन् ।

नागरिकता प्राप्त गर्ने अधिकारबारे एफडब्लुएलडीकी कार्यक्रम प्रस्तोता अधिवक्ता बिनु लामाले स्पष्ट पारेकी थिइन् । व्यक्तिको पहिचान जे भए पनि नागरिकता प्राप्त गर्ने अधिकार संविधानले सुनिश्चित गरेको उनको भनाइ थियो । व्यक्तिको समस्या लिएर अदालत जान सकिने तर, व्यक्तिको फैसलालाई नजिर मानेर सबैतिर नागरिकता वितरण गर्ने कानुनी व्यवस्था नभएको उनले स्पष्ट पारिन् । समलिंगी विवाहका लागि सर्वोच्च अदालतबाट अस्थायी आन्तरिम आदेश दिएको तर, कानुनी मान्यता प्राप्त गरिनसकेको लामाले जानकारी दिइन् ।

आफूले पाएको दुःख अभियान्ता रुक्सना कपालीले कार्यक्रममा सुनाएकी थिइन् । १५ वर्षको उमेरमा आफ्नो लिंग पहिचान हुँदा सुरु गरेको संघर्ष अहिले पनि जारी रहेको उनले बताइन् । परिवारले सूचिकृत गरिदिएको लिंगबाट सुरु भएको उनको दुःख अहिले अहिलेसम्म पनि अन्त्य भइ नसकेको दुखेसो सुनाइन् । सबै क्षेत्रमा कानुनी लडाइबाट अधिकार प्राप्त गर्दै आएको र आगामी दिनमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि लडाइँ जारी राख्ने उनको प्रतिबद्धता थियो ।


धेरै पढिएको