नेपालमा सम्भावना नदेखेपछि दक्ष जनशक्ति विदेशतिर, गणित शिक्षक खनालको भाबुक हुदै विद्यालयले गर्याे विदाइ ।

पश्चिम खबर
२६ कार्तिक २०८२, बुधबार

नेपालमा सम्भावना नदेखेपछि दक्ष जनशक्ति विदेशतिर, गणित शिक्षक खनालको भाबुक हुदै विद्यालयले गर्याे विदाइ ।

सुर्खेत पञ्चपुरी – नेपालको माटोले पालेर हुर्काएका असंख्य सपना जब स्थायित्व र अवसरको खोजीमा विदेशिन्छन्, त्यतिबेला देशभित्र खाली कुर्सी र अधूरा आकांक्षा मात्र बाँकी रहन्छन्।

यही कथा हो — श्री जनज्योति माध्यमिक विद्यालय, जामुका गणित शिक्षक हरीप्रसाद खनालको।  लगभग नौ वर्षसम्म chalk र duster बाट भविष्य कोरिरहने उनी अन्ततः वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य बने। अनुशासित, लगनशील र विद्यार्थीका मनमा बस्ने शिक्षकका रूपमा चिनिएका खनालले हालै विद्यालयको पदबाट राजीनामा दिएर जापानको यात्रा तय गर्ने निधाे गरे ।  बिदाइ समारोहमा विद्यालय परिवार, विद्यार्थी र अभिभावक सबैको आँखा रसाएका थिए। माला र टीकासँगै शुभकामनाको वर्षा हुँदै शिक्षक खनालले बोलेका शब्दहरूले सबैको मन छोयो — “शिक्षण पेशामा बिताएका नौ वर्ष मेरो जीवनकै अमूल्य कमाइ हुन्। सबै सहयोगी सहकर्मी, अभिभावक र विद्यार्थीप्रति हार्दिक आभार प्रकट गर्छु। यदि कहिल्यै गल्ती भयो भने माफी चाहन्छु।”

२८ वर्षका हरीप्रसाद, चाैकुने गाउँपालिका–१० का बासिन्दा, बुबा कुश्माखर खनाल र आमा नन्दकला देवी खनालका कान्छा छोरा हुन्। सन् २०७४ सालदेखि निजी विद्यालयमा अध्यापन सुरु गरेका उनले पछिल्लो एक वर्ष देखी जनज्योति मावि, जामुमा माध्यमिक गणित शिक्षकको रूपमा सेवा दिएका थिए। तर, उनको “वैदेशिक रोजगारी” तर्फको निर्णय व्यक्तिगत मात्र होइन, यो देशको शिक्षाक्षेत्रकै गहिरो घाउ हो। उपस्थित शिक्षकहरूले भने — “हरी सर जस्ता इमानदार र दक्ष शिक्षक देश छोड्न बाध्य हुनु हाम्रो शिक्षण प्रणालीको पीडादायी प्रतिबिम्ब हो।”
नेपालमा आज पनि शिक्षण पेशा समर्पणको प्रतीक त छ, तर स्थायित्व र सम्मानको आधार बन्न सकेको छैन। न्यून पारिश्रमिक, अवसरको अभाव र असुरक्षाले गर्दा हजारौं दक्ष जनशक्ति हरेक वर्ष विदेशी भूमितिर पलायन भइरहेका छन्। हरीप्रसाद खनालको बिदाइले फेरि एकपटक देशका उज्याला मस्तिष्कहरू किन उजाडिँदैछन् भन्ने प्रश्न उब्जाएको छ।


धेरै पढिएको