पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको ज्यान गयो, दुई घाइते

पश्चिम खबर
९ वैशाख २०८२, सोमबार

ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा आज बिहान दर्शनार्थी बोकेको बोलेरो जिपमा करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। जिप पाथीभरा मन्दिरतर्फ जाँदै गर्दा बिजुलीको पोलबाट झुन्डिएको तारमा अल्झिएर दुर्घटना भएको हो।

मृतकको सनाखत यसप्रकार छ:

  • आध्या आचार्य (१६ वर्ष) – ललितपुर महानगरपालिका-१० की सबिना आचार्यकी छोरी

  • विनोद पौडेल (७० वर्ष) – भद्रपुर नगरपालिका-१५, झापा

  • सरिता पौडेल (६९ वर्ष) – विनोद पौडेलकी श्रीमती

  • दुर्गा भट्टराई (४२ वर्ष अनुमानित) – बोलेरो चालक, फुङलिङ नगरपालिका-१०, ताप्लेजुङ

घटनामा सबिना आचार्य (४५ वर्ष) र उनका छोरा भबिमय आचार्य (१० वर्ष) घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिएका छन्।

दर्शनार्थी बोकेको बोलेरो (ना १ च ३०११) जिप सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरतर्फ जाँदै थियो। घटनास्थलमा आगलागी समेत भएकोले तत्कालै उद्धार कार्य सुरु गरिएको थियो।

तस्वीर: प्रदेश खबर फेसबुक पेजबाट साभार