विद्यालय बन्द, बालबालिका संकटमा: लागुऔषध र कुलतबाट जोगाउन माग

पश्चिम खबर
१० वैशाख २०८२, मंगलबार

९ वैशाख, इलाम ।
इलाम बजारका एक १३ वर्षीय बालकको व्यवहारमा अचानक परिवर्तन देखिएपछि उनका अभिभावक चिन्तित भए। जब निगरानी बढाइयो, तब थाहा भयो कि उनी लागुऔषध प्रयोग गर्न थालेका रहेछन्।
“विद्यालय बन्द भएपछि उसले साथीहरूसँग फुटबल खेल्न जान्छ भन्थ्यो, तर पछि लागुऔषधमा फसेको थाहा पायौं,” बालककी आमाले दुःखी हुँदै भनिन्, “विद्यालय खुलेको भए शायद यस्तो हुन्नथ्यो।”

वैशाखसँगै नयाँ शैक्षिक सत्र सुरु भए पनि इलामका सामुदायिक विद्यालयहरू अझै बन्द छन्। विद्यार्थी भर्ना हुनुपर्ने बेला हो तर शिक्षक आन्दोलनका कारण पठनपाठन ठप्प छ। शिक्षकहरू आफ्ना माग पूरा नहुँदासम्म आन्दोलनमै छन्, तर अभिभावकहरू भने बालबालिकाको बिग्रँदो अवस्थाप्रति चिन्तित छन्।

सूर्योदय नगरपालिका–७ का गणेश भट्टराई भन्छन्, “विद्यालय नखुले गाउँघरका बालबालिकासमेत गलत क्रियाकलापमा लाग्न थालेका छन्। खाली समय, खराब संगत र अनुशासनको अभावले उनीहरूलाई कुलततर्फ डोर्याइरहेको छ।”

मानवअधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माका अनुसार बालबालिकामा लागुऔषधको प्रयोग ‘चिन्ताजनक’ रूपमा बढिरहेको छ। उनले सचेत नागरिकहरूलाई यस्तो अवस्था देख्दा प्रशासन वा प्रहरीलाई खबर गर्न आग्रह गरे। साथै, अभिभावकहरू अझ सजग हुनुपर्ने आवश्यकता औंल्याए।

हिमालय मावि, सूर्योदय–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले सरकारसँग माग गरे — “विद्यालय बन्द हुँदा बालबालिका बिचल्लीमा परेका छन्। सरकारले शिक्षकको माग सम्बोधन गरेर विद्यालय खोल्ने वातावरण तुरुन्त बनाउनुपर्छ।”

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार प्रहरीले लागुऔषध नियन्त्रणका लागि विद्यालयस्तरसम्म चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। “बाहिरबाट लागुऔषध भित्रिन नदिन र विद्यार्थीलाई सचेत पार्न प्रहरी सधैं सक्रिय छ,” उनले बताए।

इलाममा शिक्षा बन्द हुँदा बालबालिकाको जीवनशैलीमा आएको नकारात्मक परिवर्तनले गम्भीर सामाजिक संकटको संकेत दिइरहेको छ। समाधानका लागि राज्य, शिक्षक, अभिभावक र समाज सबैको सहकार्य अपरिहार्य देखिन्छ।


धेरै पढिएको