कर्णालीमा ढल्यो एमाले नेतृत्वको सरकार

पश्चिम खबर
९ साउन २०८३, शनिबार

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

प्रदेशसभामा सम्बोधनपछि मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखसमक्ष पुगेर औपचारिक रूपमा राजीनामा बुझाएका छन्।कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाले असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै नेपाली कांग्रेसका मन्त्रीहरूले सरकारबाट राजीनामा दिएका थिए।

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘छापामार शैली’मा ल्याइएको आरोप लगाए। प्रदेशसभाको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आफूले पदबाट हट्ने निर्णय गरेको उनको भनाइ थियो।यामलाल कँडेल नेपाली कांग्रेसको समर्थनमा २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसबेला केन्द्रमा भएको राजनीतिक समीकरणअनुसार सरकार गठन भएको थियो। तर पछिल्लो समय बदलिएको राजनीतिक समीकरणसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको थियो।

मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुने भएको छ।


धेरै पढिएको