वर्षाले सूर्यविनायक–साँगा सडक एकतर्फी, ठूला सवारी रोकिए
भक्तपुर, वैशाख २१ — गएरातिदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सवारी आवागमन प्रभावित भएको छ। निर्माणाधीन सडक हिलाम्मे र चिप्लो बनेपछि यातायात एकतर्फी मात्र सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी भक्तपुरले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीका अनुसार भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेतर्फ जाने सडक अत्यधिक जोखिमयुक्त भएपछि सवारी सञ्चालनमा आंशिक प्रतिबन्ध लगाइएको हो। “वर्षाका कारण सडक हिलाम्मे भएपछि विशेषगरी ठूला सवारीसाधन चिप्लिने, तल खस्ने जोखिम अत्यधिक बढेको छ,” उनले भने।
हाल काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट सञ्चालनमा छन्। भक्तपुरबाट काभ्रेतर्फ जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न डाइभर्ट गरिएको छ। दुईपाङ्ग्रे र हल्का चारपाङ्ग्रे सवारीलाई जगातिबाट च्याम्हसिं, ताथली हुँदै नाला मार्गबाट बनेपा पठाइएको छ।
ठूला मालवाहक सवारीसाधन भने सल्लाघारी चौर र जगाति क्षेत्रमा नै रोकिएका छन्। निर्माणको क्रममा रहेको सूर्यविनायक–धुलिखेल सडकखण्डमा हल्का वर्षाले समेत सडक हिलोयुक्त हुने गरेको र ठूला सवारीसाधन सडकमै फँस्ने, भासिने तथा साना सवारी चिप्लिने समस्या देखिएको ट्राफिक प्रहरीको भनाइ छ।
यातायात सहज बनाउने प्रयास भइरहेको भए पनि निर्माण कार्यमा ढिलाइ तथा मौसम प्रतिकूलताका कारण समस्या समाधानमा समय लागिरहेको ट्राफिक प्रहरीको भनाइ छ।



प्रतिक्रिया दिनुहोस