२८ पुस, सुर्खेत ञ्चपुरी- नगरपालिका अन्तर्गत रहेको जन जागृत माध्यमिक विद्यालय दुलालथाइको ३८औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पालिकाकै सबैभन्दा कान्छो माध्यमिक विद्यालयका रूपमा स्थापित जन जागृत माध्यमिक विद्यालयको समग्र विकासका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए। शिक्षाले मानव जीवनका विविध समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा अध्ययन गराउनुपर्नेमा सहभागीहरूले जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबिर भण्डारीले नगरपालिकाबाट विद्यालयलाई प्रदान हुँदै आएको सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा थप सहयोगका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको सुदृढीकरणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेसमेत उल्लेख गर्नुभयो।

त्यसैगरी सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक र अभिभावकबीच नियमित सम्पर्क तथा सहकार्य अपरिहार्य रहेको बताए। विद्यालय प्रशासनका अनुसार हाल विद्यालयले विभिन्न चुनौतीहरूको सामना गरिरहेको जनाउँदै ती चुनौती पार गर्न सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको स्पष्ट पारेको छ।
हाल जन जागृत माध्यमिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म ४४० जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयको शैक्षिक विकास, भौतिक पूर्वाधार सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि निरन्तर प्रयास भइरहेको विद्यालय प्रशासनले जनाएको छ।

वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्न देश तथा विदेशमा रहेका सहयोगी दाताहरूबाट १ लाख १३ हजार ५ सय रुपैयाँ सहयोग संकलन गरिएको विद्यालयले जनाएको छ। सहयोगी दाताप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।
यस विद्यालयले विद्यार्थी तथा शिक्षकहरूको हौसला अभिवृद्धि गर्न विभिन्न समयमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थी र शिक्षक दुवैलाई थप उत्साह र प्रेरणा मिल्ने विद्यालयका प्रधानाध्यापक थानी प्रसाद घिमिरेले बताउनुभयो।



प्रतिक्रिया दिनुहोस