ञ्चपुरी–४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन शिलान्यास
डिभिजन वन कार्यालय भेरी को नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ
पञ्चपुरी नगरपालिका — डिभिजन वन कार्यालय भेरी को नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ। सुर्खेत जिल्लाको बरैचे मा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास वन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्ण ले गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा वन कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ भवन निर्माणसँगै वन कार्यालयको सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र सहज हुने विश्वास व्यक्त गरेका थिए।

कार्यालयका अनुसार निर्माण हुन लागेको भवन ढाई तलाको हुनेछ। भवनमा १४ वटा कार्यालय कोठा रहनेछन् भने माथिल्लो तल्लामा कर्मचारीका लागि क्वाटरको समेत व्यवस्था गरिनेछ। आधुनिक संरचनासहित निर्माण गरिने भवनले कार्यालय सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
भवन निर्माणको जिम्मा फन्स श्रेष्ठ जेभी ले लिएको छ। निर्माणका लागि २ करोड ६९ लाख ५७ हजार ५८ रुपैयाँ लागत अनुमान गरिएको छ। ठेक्का सम्झौता २०८२ साल चैत ११ गते सम्पन्न भएको कार्यालयले जनाएको छ।

सम्झौता अनुसार निर्माण कार्य २८ महिनाभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले कुनै अवरोध नआए १८ महिनाभित्रै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताएका छन्।
स्थानीयवासीहरूले लामो समयदेखि व्यवस्थित प्रशासनिक भवनको आवश्यकता रहेको उल्लेख गर्दै निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरेका छन्। वन संरक्षण, वातावरणीय व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
पञ्चपुरी क्षेत्रमा पछिल्लो समय सरकारी संरचनाको विस्तारसँगै स्थानीयस्तरमा सेवा सुविधा थप सहज बन्दै गएको देखिएको छ।



प्रतिक्रिया दिनुहोस