सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, पाइलटलाई भेटे प्रधानमन्त्रीले

पश्चिम खबर
१० साउन २०८१, बुधबार

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । आज बिहान ११ बजे भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट उड्ने वित्तिकै दुर्घटना भएको हो । विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
जहाजमा पाइलटसहित १९ जना सवार थिए । पाइलट मनिष रत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटनामा परेको हो । जहाजलाई मर्मतका लागि पोखरा लैजान लागिएको थियो । विमानमा सोही एयरलाइन्समा काम गर्ने प्राविधिक परेका छन् भने एकजना प्राविधकको श्रीमती र छोरा पनि दुर्घटनामा परेका छन् । दुर्घटनामा एकजना मात्र व्यक्ति बाँचेका छन् । घाइते अवस्थामा पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर केएमसी सिनामंगलमा लगी उपचार गरिएको थियो । साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
जहाजमा लागेको आगो ११ : ४० बजे नियन्त्रणमा आएको थियो ।
सौर्य एयरलाइन्सले दिएको जानकारी अनुसार प्लेनमा सवार १९ जनामध्ये १ जना येमनी नागरिक समेत थिए । मृत्यु हुने अन्यमा अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्दव पुरी, यज्ञप्रसाद पौड्याल छन् । यस्तै, सन्तोष महतो, पुण्यरत्न साही, अरिफ रेडा (यमनी नागरिक) र सुशान्त कटुवाल को–पाइलटको समेत मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ । दुर्घटनामा मृत्यु भएका यात्रुको शव त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।


धेरै पढिएको