अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते
अछाम, जेठ १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा घाइते भएका मकवानपुर हेटौँडा उपमहानगरपालिका निवासी ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ निवासी ४५ वर्षीय रामप्रकाश थारू को उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
दुर्घटनामा सिराहाको कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षीय सन्तकुमार साह, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ निवासी अर्जुनकुमार पौडेल तथा जिप चालक नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता घाइते भएका छन्। उनीहरूको सुर्खेतस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस