पञ्चपुरीमा गणितीय तथा भाषिक शिक्षा सम्बन्धी शिक्षक तालिम सुरु, ९८ जना शिक्षक सहभागी

पश्चिम खबर
१६ जेठ २०८३, शनिबार

पञ्चपुरीमा गणितीय तथा भाषिक शिक्षा सम्बन्धी शिक्षक तालिम सुरु, ९८ जना शिक्षक सहभागी

सुर्खेत, पञ्चपुरी । पञ्चपुरी नगरपालिकाले आधारभूत तहको शिक्षण सिकाइलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्राथमिक तहका शिक्षकहरूका लागि गणितीय सीप तथा भाषिक शिक्षा सम्बन्धी तालिम सुरु गरेको छ।

नगरपालिकाभित्र रहेका ५३ वटा विद्यालयका ९८ जना प्राथमिक तहका शिक्षक सहभागी रहेको उक्त तालिममा प्रभावकारी शिक्षण विधि, बालमैत्री कक्षा सञ्चालन, विद्यार्थी केन्द्रित शिक्षण प्रणाली, सिकाइ मूल्यांकन, खुला छलफल तथा व्यवहारिक सिकाइका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

तालिम उद्घाटन कार्यक्रममा वक्ताहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास अपरिहार्य रहेको बताएका छन्। उनीहरूले बदलिँदो शैक्षिक आवश्यकता अनुसार शिक्षकहरूले नवीन शिक्षण शैली र प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई सहज, प्रभावकारी र सिर्जनात्मक वातावरणमा सिकाउन सक्नुपर्नेमा जोड दिएका छन्।

आयोजकका अनुसार तालिममा विशेषगरी गणित विषयलाई विद्यार्थीमाझ सरल, रुचिकर र व्यवहारिक बनाउने उपायहरू, भाषिक शिक्षामा सिर्जनात्मक अभ्यास, समूहगत सिकाइ, कक्षाकोठाभित्र अन्तरक्रियात्मक वातावरण निर्माण तथा विद्यार्थीको सिकाइ उपलब्धिको प्रभावकारी मूल्यांकन सम्बन्धी विषयमा केन्द्रित प्रशिक्षण दिइनेछ।

तालिमबाट सहभागी शिक्षकहरूले सिकाइ सहजीकरणका नयाँ विधि र अभ्यासहरू सिक्ने, अनुभव आदानप्रदान गर्ने तथा विद्यालयमा व्यवहारिक रूपमा लागू गर्न सकिने सीप हासिल गर्ने अपेक्षा गरिएको छ। सहभागी शिक्षकहरूले पनि यस्ता तालिमले आफ्नो शिक्षण शैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको आयोजना पञ्चपुरी नगरपालिकाले गरेको हो भने आर्थिक सहयोग हेम्पल फाउण्डेशनले गरेको छ। त्यसैगरी प्राविधिक सहयोग स्टेट अफ चाइल्ड र आशमान नेपालले प्रदान गरेका छन्।

आयोजकका अनुसार उक्त तालिम तीन चरणमा सञ्चालन गरिनेछ र प्रत्येक चरणमा शिक्षकहरूको क्षमता अभिवृद्धि तथा गुणस्तरीय शिक्षण अभ्यासलाई प्राथमिकता दिइनेछ


धेरै पढिएको