शंखरापुरमा जेष्ठ नागरिकलाई दशैंको उपहार र सम्मान : बृद्धबृद्धा खुसीले गदगद (फोटो फिचर)

पश्चिम खबर
१६ असोज २०८१, मंगलबार
शंखरापुर नगरपालिकाले ३४ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार साँखुमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेश नापितले वडा नम्बर १ देखि ९ सम्मका ७० देखि ८० वर्ष उमेर समूहका ३६ जना जेष्ठ नागरिकलाई दशैंको नयाँ लुगा र खाद्यान्न उपहार दिई सम्मान गर्नुभएको छ । वडाध्यक्ष र जेष्ठ नागरिक समितिका अध्यक्षरको सिफारिसको आधारमा प्रत्येक वडाबाट चयन हुनुभएका जेष्ठ नागरिकलाई नयाँ कपडा, खानेकुरा सहित सम्मान गरिएको हो ।
नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजनमा आयोजित सम्मान कार्यक्रममा जेष्ठ नागरिकहरु दशैंको पूर्वसन्ध्यामा नयाँ लुगा र खाद्यान्न प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएका थिए । यो कार्यक्रमले जेष्ठ नागरिकहरूप्रति सम्मान र सद्भाव प्रकट भएको छ भने उनीहरूलाई विशेष महसुस गराएको छ । दशैं जस्तो ठूलो पर्वको आगमनसँगै सम्मानित हुँदा जेष्ठ नागरिकहरुले नगरपालिका प्रति खुशी व्यक्त गरेका छन् ।
नगरप्रमुख रमेश नापितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख नापितले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु केवल सामाजिक कर्तव्य मात्र नभई सांस्कृतिक मान्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘जेष्ठ नागरिकहरू नगरपालिकाको अभिभावक हुनुहुन्छ । उहाँहरूको मार्गदर्शनमा नगरपालिका अघि बढिरहेको छ । जेष्ठ नागरिकलाई छिटो, सहज र सरल रूपमा सेवा दिन हामी सधैँ तत्पर छौं ।’
मेयर नापितले आफू मेयर पदमा निर्वाचित भएदेखि नै जेष्ठ नागरिकलाई कसरी सहज रुपमा सेवा दिन सकिन्छ भन्ने कुरामा केन्द्रीत रहेको बताउँनुभयो । उहाँले नगरपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै घुम्ति स्वास्थ्य सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो, जसबाट धेरै जेष्ठ नागरिकहरू लाभान्वित भएका छन् ।
उहाँले घरदैलोमा नै स्वास्थ्य जाँच र औषधि सेवा पुर्याउँने उद्देश्यले घुम्ति स्वास्थ्य सेवा सञ्चालन भइरहेको बताउनुभयो । जेष्ठ नागरिकहरूलाई अस्पताल जान अप्ठेरो हुने अवस्थालाई मध्यनजर गर्दै यस्तो सेवा सञ्चालनमा ल्याइएको हो, जसले धेरै जेष्ठ नागरिकहरूको स्वास्थ्य समस्यालाई समाधान गर्न सहयोग गरेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले नगरपालिकाले जेष्ठ नागरिकहरूको हितमा विविध योजनाहरू सञ्चालन गरिरहेको र आगामी दिनमा पनि तिनलाई निरन्तरता दिने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखेर विभिन्न योजनाहरू अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरपालिकाले जेष्ठ नागरिकहरूको जीवनस्तर सुधार्न, उनीहरूको सुविधाका लागि र सेवा प्रवाह सरल बनाउँन अझ धेरै कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारी चुडालले कार्यक्रममा सहभागी भएका सम्पूर्ण व्यक्तित्व तथा जेष्ठ नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उहाँहरूको हितलाई ध्यानमा राखेर यस्ता कार्यक्रमहरू अघि बढाइने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरूको आवश्यकता, स्वास्थ्य र जीवनस्तर सुधार्न नगरपालिकाले थप कार्यक्रमहरू संचालन गर्ने जानकारी दिनुभयो । विशेषगरी जाडो महिना नजिकिँदै गर्दा जेष्ठ नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि आवश्यक व्यवस्थाहरू गरिने उहाँले बताउनुभयो ।
नगरपालिकाले ८० वर्ष उमेरमाथिका जेष्ठ नागरिकहरुको लागि भने छुट्टै योजना अघि सारेको छ । उनीहरुलाई चाँडै नै घरमै गएर न्यानो कपडा र पोषक तत्वयुक्त खाद्यान्न वितरण गर्ने कार्यक्रमको योजना बनाइएको छ । जाडो मौसमको लागि उपयुक्त न्यानो कपडा र स्वास्थ्यलाई ध्यानमा राखेर पोषक खाद्यान्न उपलब्ध गराउने कार्यक्रम मंसिर महिनामा गर्ने तयारी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारी चुडालले दिनुभयो ।
नगरपालिकाको यो कार्यक्रमले जेष्ठ नागरिकहरूलाई समाजको महत्वपूर्ण अंशको रूपमा स्थापित गर्दै उनीहरूको योगदानलाई सम्मान र कदर गर्न विशेष भूमिका खेलेको छ ।
नगरपालिकाले जेष्ठ नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने गरी घुम्ति स्वास्थ्य सेवा, न्यानो कपडा वितरण र विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले गर्दा जेष्ठ नागरिकहरूलाई नगरपालिकाको सेवा र सहयोगमा थप आत्मविश्वास मिलेको छ ।
शंखरापुर नगरपालिकाले जेष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै ३४ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसलाई एक स्मरणीय अवसरको रूपमा मनाएको छ । नगरप्रमुखदेखि विभिन्न वडाका अध्यक्षहरुसम्मका वक्ताहरूले जेष्ठ नागरिकहरूको महत्वलाई उच्च सम्मानका साथ प्रस्तुत गरेका छन् ।

धेरै पढिएको