कान्तिपुर क्याम्पसले मनायो ३३औँ वार्षिकोत्सव
काठमाडौँको कागेश्वरी मनहरा वडा नम्बर ५, थली ओरालोमा रहेको कान्तिपुर क्याम्पसले आफ्नो ३३औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। क्याम्पसले मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरी क्याम्पस सभा सदस्यहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा बुद्धिजीवीहरूबीच वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा संविधानसभा सदस्य दीपक कुइँकेल, पूर्व नगरप्रमुख तथा क्याम्पस सञ्चालक समिति सदस्य कृष्णहरि थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष तथा सञ्चालक समिति सदस्य नवराज सिम्खडा, र क्याम्पस प्रमुख शैलेन्द्र कुइँकेल लगायतको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको शुभारम्भ सञ्चालक समितिका ज्येष्ठ सदस्य नवराज सिम्खडाले केक काटी र सरस्वती मन्दिरमा दीप प्रज्वलन गरेर गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख शैलेन्द्र कुइँकेलले नगरपालिकाको पहलमा क्याम्पसको वृहत्तर हितका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको जानकारी दिनुभयो। परियोजनामा बहुतले भवन, इनडोर खेलकुद पूर्वाधार, तिनपिप्ले कान्तिपुर पार्क, सन्त नेता कृष्णप्रसाद भट्टराई अध्ययन अनुसन्धान केन्द्र, होस्टल, लगायतका योजनाहरू समावेश गरिएकाे बारे जानकारी दिनुभयो।
पूर्व संविधानसभा सदस्य दीपक कुइँकेलले क्याम्पसलाई शैक्षिक हवको रूपमा विकास गर्न सबैको सहयोग, साथ, र समन्वय आवश्यक रहेको बताउनुभयो।
मानविकी, व्यवस्थापन र कानुन सङ्कायमा अध्यापन भइरहेको कान्तिपुर क्याम्पस सामुदायिक क्याम्पस भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गन्तव्यको रूपमा परिचित बन्न सफल रहेको छ।




प्रतिक्रिया दिनुहोस