अपराध
भक्तपुरमा बुवाद्वारा छोराको चक्कु प्रहार गरी हत्या
४ पुष २०८१, बुधबार
काठमाडाैँ । भक्तपुर नगरपालिका–२ स्थित सहिद स्मृति खेल मैदान नजिक गएराति एक व्यक्तिले आफ्नै छोराको चक्कु प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार अछामको कमलनगर नगरपालिका–६ हात्तीबाच घर भइ हाल भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले घरायसी विवादका क्रममा तरकारी काट्ने चक्कुले आफ्ना ३१ वर्षीय छोरा नरेन्द्र शाहीमाथि प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रलाई तत्कालै भक्तपुर अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा राति पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोटमा राखिएको छ।
घटनापछि दीपबहादुरलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी नेउपानेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस