सेन्ट लरेन्सद्वारा आयोजित साइन्स एण्ड आइटी एक्स्पोमा अरुणोदय सेकेन्डरी स्कुल प्रथम

पश्चिम खबर
२६ माघ २०८१, शुक्रवार

काठमाडौंसेन्ट लरेन्स कलेजमा आयोजित सातौं साइन्स एण्ड आइटी एक्स्पो शुक्रबार भव्यरुपमा समापन भएको छ। बिहीबारदेखि सुरु भएको दुईदिने एक्स्पो अन्तर्गत उत्कृष्ट विद्यालयहरूलाई पुरस्कार वितरण गर्दै समापन समारोह सम्पन्न गरिएको हो।

 

चाबहिलस्थित कलेज प्रांगणमा आयोजित यो एक्स्पोमा १७ वटा विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक वैज्ञानिक तथा प्रविधिमैत्री प्रोजेक्टहरू प्रदर्शनीमा राखेका थिए। प्रतियोगितामा अरुणोदय सेकेन्डरी स्कुल प्रथम, रिभेरा इन्टरनेशनल स्कुल द्वितीय तथा रिपुमर्दिनी सैनिक स्कुल तृतीय भएका छन्। विजेता विद्यालयहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद राशिसहित मेडल र ट्रफी प्राप्त गरेका छन्।

 

कार्यक्रममा बोल्दै सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले विज्ञान र सूचना प्रविधिको महाकुम्भ भव्य रूपमा सफल भएको बताउँदै सहभागी सम्पूर्ण विद्यालयहरू, विद्यार्थीहरू, कलेज स्टाफ तथा सहयोगी सबैलाई धन्यवाद दिए। उनले यस वर्षका प्रोजेक्टहरू गुणस्तरीय र व्यवसायिक सम्भावना बोकेको उल्लेख गर्दै आगामी आठौं संस्करणलाई अझ भव्य बनाइने जानकारी दिए।

समापन समारोहमा प्रमुख अतिथि डा. रामेश्वर अधिकारीले विद्यार्थीहरूलाई ठूला संकल्प लिएर अघि बढ्न प्रेरित गरे। उनले जुनसुकै लक्ष्य प्राप्त गर्न दृढ सङ्कल्प आवश्यक पर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति इमानदार रहन आग्रह गरे।

क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले विद्यार्थीहरूको हार्डवर्क र डेडिकेशन उल्लेखनीय रहेको बताउँदै दैनिक जीवनमा प्रयोग हुने प्रविधि निर्माण हुनु सकारात्मक संकेत भएको बताए। कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले यस वर्षको प्रदर्शनी उत्कृष्ठ रहेको उल्लेख गर्दै आगामी वर्षको एक्स्पो झन उत्कृष्ठ बनाउने तथा विध्यालय तथा विद्यार्थीहरूको अझै बढि सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे।


धेरै पढिएको