कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना : श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु
५ फागुन, बुटवल । भारतको महाकुम्भ मेलामा स्नान गरेर फर्किंदै गरेका रुपन्देही, देवदहका तीन जना तीर्थालुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार दुर्घटना भारतको उत्तर प्रदेश, आजमगढ-वाराणसी सडकमा गाडी डिभाइडरमा ठोक्किएपछि भएको हो। भारतीय नम्बर प्लेट युपी ५३ एफ डी ४२८८ भएको गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
दुर्घटनामा देवदह-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको छ।
घाइतेमध्ये देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गोरखपुर लगिएको भारतीय प्रहरीले जनाएको छ।
फागुन ३ गते देवदहबाट महाकुम्भ स्नानका लागि ५ वटा गाडीमा ३५ जना तीर्थयात्री भारत गएका थिए। नेपाल फर्किंदै गर्दा तीर्थालु सवार उक्त गाडी दुर्घटनामा परेको हो।



प्रतिक्रिया दिनुहोस