अमेरिकाको सहयोग रोकिएपछि नेपालमा एमसीसी परियोजना स्थगित

पश्चिम खबर
७ फागुन २०८१, मंगलबार

काठमाडौं। अमेरिकाले सहयोग रोक्का गरेपछि नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएका छन्।

अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजना हाललाई स्थगित गरिएको जानकारी दिएको छ। मन्त्रालयले उल्लेख गरेअनुसार, अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकारलाई २०८१ फागुन २ गते इमेलमार्फत जानकारी गराउँदै एमसीसी फण्डबाट भुक्तानी हुने गतिविधिहरू रोकिएको सूचित गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपतिको २०२५ जनवरी २० मा जारी ९० दिने स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार नेपालमा कार्यान्वयन भइरहेको एमसीसी कम्प्याक्ट अन्तर्गतका आयोजनाहरूका लागि भुक्तानी रोकिएको छ।”

एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन निर्माण र सडक सुधार परियोजना सञ्चालन हुँदै आएको थियो। अमेरिकी सरकारको निर्णयपछि परियोजनाहरूको भविष्य अन्योलमा परेको छ। यसअघि नै एमसीसी परियोजना कार्यान्वयनका क्रममा विभिन्न राजनीतिक विवादहरू उत्पन्न भएका थिए।

सरकारले परियोजना स्थगनका सम्बन्धमा आवश्यक परामर्श र आगामी कदमबारे छलफल गरिरहेको जनाएको छ।


धेरै पढिएको