संसदमा विधेयक छिटो पारित गराउन कांग्रेस सक्रिय: शीर्ष नेताको बैठक आज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन्। बैठक आज शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।
बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू सहभागी हुनेछन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुनेछ।
त्यसैगरी, भ्रातृ संस्थाहरूको अधिवेशनसम्बन्धी विषय पनि छलफलको प्रमुख एजेण्डा रहेको छ। कांग्रेसले चैत महिनाभित्र अधिवेशन सम्पन्न गर्न सबै तदर्थ समितिलाई निर्देशन दिइसकेको छ।
“संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिनेबारे छलफल हुनेछ। साथै, पार्टीको सांगठनिक सुदृढीकरण र भ्रातृ संस्थाहरूको अधिवेशन समयमै गराउन आवश्यक तयारीबारे बैठकमा चर्चा हुनेछ,” मुख्य सचिव पौडेलले जानकारी दिए।
यस बैठकमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लैजाने विषयमा पनि छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस