उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा, भोलिदेखि देशभर मौसम क्रमिक रूपमा सुधार हुने

पश्चिम खबर
१७ फागुन २०८१, शुक्रवार

काठमाडौं ।  काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा भएको छ। मौसमविद्हरूका अनुसार आज दिनभरि तराईबाहेक सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।

पश्चिमी वायु सक्रिय भइरहेकाले दिउँसो काठमाडौंसहित उत्तरी पूर्वी भागमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

यसैबीच, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएरातिदेखि यी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेकाले जल तथा मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा बैतडीको डैन्सेली जलमापन केन्द्रमा ३१.४ मिलिमिटर मापन गरिएको छ। यस्तै, कालीकोटको नाग्मामा २९.४ मिलिमिटर, बाजुरामा २८.२ मिलिमिटर, डोटीमा २५ मिलिमिटर वर्षा मापन भएको छ।

डोल्पा, जुम्ला, मुगु, हुम्लालगायतका पश्चिमी क्षेत्रमा समेत वर्षा भइरहेको छ। पश्चिमी क्षेत्रको उच्च पहाडी तथा हिमाली भागमा मेघगर्जन, चट्याङसहितको वर्षा र हिमपातको सम्भावना रहेको छ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार हिउँदको अन्त्यतिर मध्यम खालको राम्रो वर्षा भइरहेको छ। भोलिदेखि भने देशभर मौसम क्रमिक रूपमा सुधार हुने अनुमान गरिएको छ।


धेरै पढिएको