सवारी चालक अनुमतिपत्र उमेर हद बढाउने तयारी, नयाँ ऐनको मस्यौदा तयार
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ का लागि मस्यौदा तयार गरेको छ, जसमा लाइसेन्स प्राप्त गर्न आवश्यक उमेर सीमा परिवर्तन गर्ने प्रस्ताव गरिएको छ।
हाल लागू रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, मोटरसाइकल तथा अन्य दुई वा तीन पाङ्ग्रे सवारीका लागि १६ वर्ष पुगेपछि लाइसेन्स लिन पाइन्छ। तर, नयाँ ऐनअनुसार यो उमेर १८ वर्ष पुर्याउने प्रस्ताव गरिएको छ।
यस्तै, हाल ठूला सवारीसाधन (बस, ट्रक आदि) चलाउनका लागि आवश्यक २१ वर्ष उमेर हदलाई २३ वर्ष पुर्याउने प्रस्ताव गरिएको छ। मझौला तथा साना सवारीसाधनका लागि हाल १८ वर्ष उमेर पुगेपछि लाइसेन्स पाइने व्यवस्था छ, जुन २१ वर्ष पुर्याउने तयारी भइरहेको छ।
नयाँ ऐनले यातायात सुरक्षालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस