सुनको भाउमा एकैदिन  प्रतितोला ३ हजार ९ सय रुपैयाँले घट्यो

पश्चिम खबर
२२ चैत २०८१, शुक्रवार

२२ चैत, काठमाडौं ।

नेपालमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। अघिल्लो दिन ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ३ हजार ९ सय रुपैयाँले घटेर १ लाख ७६ हजार ४ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको शुक्रबारको दरअनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला २ हजार १५ रुपैयाँमा कायम छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव तथा डलरको भाउमा आएको परिवर्तनका कारण सुनको मूल्यमा गिरावट देखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औंस २३२० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा केही तल झरेको हो। विश्लेषकहरूका अनुसार बजारमा देखिएको मूल्य समायोजन सामान्य प्रक्रिया भए पनि निकट भविष्यमा पुनः वृद्धिको सम्भावना पनि रहन सक्ने संकेत देखिएको छ।

नेपालमा वैशाख सुरु हुनै लाग्दा सुनचाँदी बजारमा सक्रियता बढ्न थालेको छ। विवाह, चाडपर्व तथा अन्य धार्मिक गतिविधिका लागि सुनको माग उच्च हुने भएकाले मूल्य अझै चुलिन सक्ने व्यवसायीहरूको अनुमान छ।


धेरै पढिएको