बारको नेतृत्वमा राजनीतिक हस्तक्षेप अस्वीकार्यः महासचिव उम्मेदवार न्यौपाने

पश्चिम खबर
१६ चैत २०८१, शनिबार

काठमाडौं, १५ चैत – नेपाल बार एसोसिएसनको महासचिव पदका उम्मेदवार अधिवक्ता यज्ञमणी न्यौपानेले बारको स्वतन्त्रता सुनिश्चित हुनुपर्ने बताउँदै राजनीतिक दलहरूको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन्।

उनले दलहरूले बारको नेतृत्व तोक्ने प्रवृत्तिको विरोध गर्दै, बार आफैंमा शक्तिशाली संस्था भएको र यसको स्वायत्तता कुनै हालतमा कमजोर हुन नहुने धारणा राखे। न्यौपानेले आफ्नो उम्मेदवारी बारलाई दलहरूको प्रभावबाट मुक्त गराउनकै लागि रहेको स्पष्ट पारे।

स्वतन्त्र पेशागत समूहको उम्मेदवारी किन?

न्यौपानेका अनुसार, नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायी संगठनहरूको गठबन्धन भई नेतृत्व तोकिने परिपाटी स्थापनासँगै पेशागत कानून व्यवसायीहरूसँग दुई विकल्प मात्र बाँकी रह्यो—सरेन्डर गर्ने वा लड्ने। उनले भने, “हामीले स्वतन्त्र बारको पक्षमा लड्ने निर्णय गरेका छौं।” वरिष्ठ अधिवक्ता तथा पूर्व महासचिव रमण कुमार श्रेष्ठ अध्यक्ष र आफैं महासचिवको उम्मेदवार बनेर यो प्रतिस्पर्धामा उत्रिएको उनले जानकारी दिए।

बारको नेतृत्व राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ

बारको निर्वाचनमा उठेका मुख्य विषयहरूमध्ये सबैभन्दा महत्वपूर्ण बारको न्यायिक स्वतन्त्रता, सक्षम न्यायपालिका, न्यायाधीश नियुक्तिको पारदर्शिता र बारको स्वायत्तता जोगाउने सवाल रहेको न्यौपानेले उल्लेख गरे। उनका अनुसार, “बार कुनै पनि राजनीतिक दलको नियन्त्रणमा रहनु हुँदैन।” उनले थपे, “बारको संस्थापक देवनाथ बर्माले कहिल्यै पनि राजनीतिक दलहरूले नेतृत्व तोक्ने परिकल्पना गरेका थिएनन्।”

राजनीतिक गठबन्धन बारका लागि घातक

बारको मूल उद्देश्य लोकतन्त्रको रक्षा, कानूनी शासन, मानव अधिकार प्रवर्द्धन, र न्यायपालिकाको स्वतन्त्रता हो। न्यौपानेका अनुसार, ठूला दुई दलको गठबन्धनले बारको स्वतन्त्रता समाप्त पार्न सक्छ। “बारमा प्रतिपक्ष विहीन अवस्था सिर्जना गर्नु भनेको बारलाई निष्क्रिय बनाउनु हो,” उनले भने।

न्यायपालिकाको पुनःसंरचनाको आवश्यकता

न्यायपालिकामा विद्यमान विसंगतिहरू सच्याउन न्यायपालिकाको पुनःसंरचना अनिवार्य भएको न्यौपानेको तर्क छ। “भागबण्डाको नीतिले गर्दा अदालतमा बहस गरेर न्याय पाउने सुनिश्चितता खस्कँदै गएको छ,” उनले बताए। न्याय व्यवसायीहरूको हकहित र जनजीविकाका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए।

न्यौपानेको अपिल

बारको स्वायत्तता जोगाउन स्वतन्त्र कानूनी व्यवसायीहरूले नेतृत्व गर्नुपर्ने न्यौपानेको धारणा छ। उनले मतदाताहरूसँग बारलाई दलहरूको प्रभावबाट मुक्त राख्ने पक्षमा मतदान गर्न अपिल गरे। “बारको नेतृत्व राजनीतिक भागबण्डामा सीमित हुनुहुँदैन। न्यायिक स्वतन्त्रता र कानूनी पेशाको गौरव जोगाउन हामी सबैको भूमिका आवश्यक छ,” उनले भने।


धेरै पढिएको