टेरामक्स काण्ड : सांसद बस्नेतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा

पश्चिम खबर
२ जेठ २०८२, बिहिवार

काठमाडौं — टेरामक्स उपकरण खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद मोहनबहादुर बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको उपकरणमा गम्भीर हिनामिना भएको ठहर गर्दै अख्तियारले ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा परेका अन्य व्यक्तिहरूमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, सदस्यहरू टिकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेतलगायत छन्।

विदेशी परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्सका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कम्पनी कनेक्सन ट्रेड लिंकका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको छ।

यद्यपि, यसअघि प्रकरणमा मुछिएका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, एमाले सांसद गोकुल बाँस्कोटा र पूर्व मुख्यसचिव वैकुण्ठ अर्याललाई भने अख्तियारले मुद्दा नलगाउने निर्णय गरेको छ।

अख्तियारका अनुसार अनुसन्धानबाट संलग्न व्यक्तिहरूले नियमविपरीत प्रक्रिया अपनाई उपकरण खरिदमा राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्‍याएका छन्।


धेरै पढिएको