पञ्चपुरीमा अव्यवस्थित बसोबास क्षेत्रको नापी कार्य पुनः सुरु, लालपुर्जा नभएकाले पाउनेछन् लालपुर्जा
पञ्चपुरी, जेठ २६ — केही समयदेखि रोकिएको अव्यवस्थित बसोबास क्षेत्रको जग्गा नापी तथा नक्सांकन कार्य पुनः सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोगको पुनः गठनसँगै नगरपालिकाले वडा नं. ५, तिखाकुना क्षेत्रबाट आज (२०८२ साल जेठ २५ गते) नापी कार्य औपचारिक रूपमा शुभारम्भ गरेकाे छ ।
कार्यक्रमको उद्घाटन पञ्चपुरी नगरपालिकाका नगरप्रमुख श्री लालविर भण्डारीज्यू बाट भएको थियो।
यसअघि भूमि आयोगको विघटन पछि अव्यवस्थित बस्तीमा नापी कार्य रोकिएको थियो। आयोगको पुनर्गठन सगै देशभर नै सुरु गरिएको अभियान अन्तर्गत पञ्चपुरीमा पनि नापी प्रक्रिया अघि बढाइएको हो।

पञ्चपुरी नगरपालिका भुमि शाखा प्रमुख श्री पूर्ण बहादुर रावलका अनुसार, यसअघि वडा नं. ४ को डाव वडा नं. ५ को बाबियाचौर, वडा नं. ६ को बाबियाचौर र चतुरे, तथा वडा नं. ११ काे ताउले तातापानी क्षेत्रमा गरी करिब ६६३ जना जग्गाधनीलाई स्थायी लालपुर्जा वितरण भइसकेको छ।
“आजदेखि पुनः सुरु भएको यो कार्य अब नियमित रूपमा अगाडि बढ्नेछ,” प्रमुख रावलले बताए। “आयोगले निरन्तरता दिने वातावरण बनेमा आउँदो १ देखि २ वर्षभित्र सम्पूर्ण पञ्चपुरीवासीको हातमा स्थायि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने राखिएकाे छ । अब कोही पनि जग्गाविहीन रहने अवस्था रहने छैन।”

उक्त नापी अभियानले पञ्चपुरी नगरपालिकाभित्र रहेका अव्यवस्थित बसोबासीहरूलाई कानुनी अधिकार सुनिश्चित गर्नुका साथै उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया दिनुहोस