शंखरापुर नगरपालिकाद्वारा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया सम्पन्न
काठमाडौँ । शंखरापुर नगरपालिकाले ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागी स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार शंखरापुरको वडा नं ६ स्थित देवी फरेस्ट रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको थियो ।
कार्यक्रममा नगरप्रमुख रमेश नापित, नगर प्रवत्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारी लगायत अन्य शाखाका प्रमुख तथा कर्मचारीहरू, वडा नं १ का वडा अध्यक्ष बाबुराम दंगाल, ३ का वडा अध्यक्ष सूर्य बहादुर तामाङ, वडा नं ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष पोते थिङ्ग, कार्यपालिका सदस्यहरू, विभिन्न वडाका वडा सचिवहरू, स्वास्थ्य संस्थाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश नापितले लैङ्गिक हिंसा रोकथामका लागी स्कुल स्कुलबाट कार्यक्रम सुरु गर्नुपर्ने बताउनुभयो । बालबालिकालाई यसबारे शिक्षा दिन सके उनीहरूले जस्तोसुकै खालका हिंसा रोक्न आफ्ना अभिभावकलाई प्रोत्साहन गर्ने उहाँको धारणा थियो । विद्यालय तथा टोल टोलमा पुगेर लैङ्गिक हिंसा विरुद्ध नगरपालिकाले अभियान चलाउने पनि उहाँले जानकारी दिनुभयाे । हिंसा महिला विरुद्ध मात्रै नहुने बताउँदै पुरुष पनि हिंसाको पिडामा रहेकाले सोच परिवर्तन गरेर मात्रै सबै प्रकारको हिंसा अन्त्य गर्न सकिनेमा उहाँकाे जोड थियाे ।
कार्यक्रममा बोल्दै नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले शंखरापुर नगरपालिका प्रत्येक विद्यालय, समुदायमा लैङ्गिक हिंसा निरूपणका कार्यक्रमहरू गर्ने बताउनु भयो । ” एक्लो प्रयासले मात्रै हिंसा न्यूनीकरण नहुने भएकाले हिंसा न्यूनीकरणका लागी सामूहिक प्रतिबद्धता आवश्यक रहेको छ”, उहाँले भन्नुभयो । हिंसा रोक्न सोचाइमा परिवर्तन हुनुपर्ने बताउँदै, यति कार्यक्रममा मात्रै नगरपालिका सीमित नरहेने प्रत्येक विद्यालय, समुदाय सम्म पुग्ने कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले हिंसा समाज, समय, मूल्यमान्यता, संस्कार,परिस्थिति लगायतका कुराहरूमा निर्भर रहने हुनाले यसलाई सापेक्षताको आधारमा हेर्नुपर्ने बत्ताउनुभयो । महिला हिंसाको कुरा धेरै आए पनि समयअनुसार पुरुषहरु पनि हिंसामा पर्ने गरेकोले हिंसा रोकथाममा सोचाइमा परिवर्तन गर्न आवश्यक रहेकामा उहाँको जोड थियो ।
कार्यक्रममा सरिता दहलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले लैङ्गिक हिंसा,लैङ्गिक हिंसाको १६ दिने अभियानको इतिहास, लैङ्गिक हिंसाका वर्तमान अवस्था लगायतकाले बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरू तथा वडा अध्यक्षहरूले लैङ्गिक हिंसा न्यूनीकरणका बारेमा बिचार राख्नुभएको थियो ।











प्रतिक्रिया दिनुहोस