सहकारी ठगी आरोप: रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै

पश्चिम खबर
२५ माघ २०८१, बिहिवार

चितवन । साहारा चितवन सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदैछ। बुधबारबाट सुरु भएको बहस नसकिएपछि आज पुनः निरन्तरता दिइने भएको हो।

चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बहस बिहान १० बजेबाट सुरु हुनेछ। सरकारी वकिल तथा जाहेरवालाको तर्फबाट बहस हुनेछ भने विपक्षी प्रतिवादी पक्षले पनि आफ्ना तर्क प्रस्तुत गर्नेछन्।

थुनछेक बहस नसकिएकाले बुधबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो। सो दिन सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा तथा जाहेरवाला बचतकर्ताहरूको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो।

आजको बहसपछि अदालतले थुनछेकसम्बन्धी निर्णय लिने अपेक्षा गरिएको छ।