काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब पाँच घण्टा लामो ‘वान–टु–वान’ वार्ता भएको छ।
काठमाडौंको कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा साँझ ६ बजेदेखि सुरु भएको भेट करिब ६ घण्टासम्म चलेको बताइएको छ। बैठकमा रवि लामिछानेका साथ रास्वपाका उपसभापति डीपी अर्याल र नेता असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन उपस्थित थिए।
स्रोतका अनुसार बैठकको अधिकांश समय रवि र बालेनबीच प्रत्यक्ष करिब पाँच घण्टा छलफल भएको थियो भने अन्य नेताहरू अलग्गै बसेका थिए। सुरुमा दुवै नेताबीच व्यक्तिगत तथा भावनात्मक कुराकानी भएको जनाइएको छ। केही दिनअघि पिता गुमाएका बालेन शाह र करिब २६० दिन कारागारमा बसेर हालै रिहा भएका रवि लामिछानेबीच जीवन अनुभव र पीडाका विषयमा संवाद भएको बताइएको छ।
त्यसपछि मुलुकको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उपाय र देश परिवर्तनका लागि दीर्घकालीन सहकार्यको सम्भावनाबारे गम्भीर छलफल भएको स्रोतको दाबी छ।
वार्तापछि प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले लामो प्रतीक्षापछिको यो भेट भएको उल्लेख गर्दै सबैको आशा र अपेक्षा अनुरूप देश निर्माणका लागि मिलेर अघि बढ्ने भावनासहित सौहार्दपूर्ण संवाद भएको बताए।



प्रतिक्रिया दिनुहोस